Logo
Logo

आयोगले ३७ जनासँग लियो स्पष्टीकरण

स्पष्टीकरण सोधिनेमा मुख्यमन्त्री, मन्त्रीदेखि मतदाताको पाउमा पैसा राखेर ढोग्ने उम्मेदवारसम्म


693
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निवार्चन आचारसंहिता उल्लंघन पनि बढ्दै गएको छ । यसरी आचारसंहिता उल्लंघन गर्ने दलका नेता तथा कार्यकर्तालाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने गरेको छ ।

आयोगले हालसम्म निर्वाचन आचारसहिता उल्लंघन तचा मतदातालाई प्रभावित गर्न खोज्ने मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई स्पष्टीकरण सोधिसकेको छ ।

आयोगका अनुसार हालसम्म ३७ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिकसकेको छ । स्पष्टीकरण सोधिनेमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेल, एमाले काठमाडौंका प्रमुख उम्मेदवार केशव स्थापित, बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतका रहेका छन् । उनीहरुले निर्वाचन आचारसंहिता विपरित कार्य तथा अभिव्यक्ति दिएकाले स्पष्टिकरणल सोधिएको आयोगले जनाएको छ ।

काठमाडौं महानगरका लागि नेकपा एमालेका मेयर उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्तिप्रति आयोगले स्पष्टिकरण सोधेको हो । स्थापितको अभिव्यक्ति सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट आएपछि आयोगले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कैलालीको कैलारी गाउँपालिका–७ का अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएपछि आयोगले स्पष्टिकरण सोधेको हो । भट्टको सो अभिव्यक्ति मतदातालाई प्रभावित गर्न केन्द्रित थियो ।
त्यस्तै, निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेललाई म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधिएको जनाइएको छ ।

यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का अध्यक्ष धर्मनाथ चौधरीलाई एक महिलालाई दुई हजार नगद दिएको तथा अर्का मानिसलाई पाइप दिएको भन्ने निवेदन आयोगमा परेपछि स्पष्टीकरण सोधिएको जनाइएको छ ।

यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्विर सामाजिक सञ्जलामा जानकारीमा आएको भन्दै २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको थियो ।

यस्तै, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको प्रचारप्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार आएपछि उनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
यस्तै, रुपन्देहीे तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे नेकपा एमालेको प्रचार प्रसारमा खटिएको फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको भन्दै २४ घन्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन आयोगले भनेको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन् भने निर्वाचन आचारसंहिता उल्लंघनका घटना पनि बढ्दै गएको छ । सो सँगै आयोगर्ले दलका नेता तथा कार्यकर्तालाई आचारसंहिता पालना उल्लंघन नर्ग चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्