काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले धेरै वर्षसम्म गठबन्धन टिकाउनु नै सबै पार्टीको हितमा हुने बताए ।

गठबन्धनकै कारण मुलुकले केपी ओलीको अतिवादबाट मुक्ति पाएको भन्दै देउवाले ओलीशासन नबिर्सिन काठमाडौंबासीलाई आग्रह गरे । उनले भने, ‘म त भन्छु यो गठबन्धन धेरै वर्षसम्म बचाउनुपर्छ । गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ, म प्रधानमन्त्री भएपछि सबैले ओली शासनबाट मुक्ति पायौं भनेको होइन ? ८/९ महिनामै बिर्सनु हुँदैन ।’
उनले महिला उम्मेदवारलाई दुनियाँले राम्रो, नराम्रो भन्ने बताए । ‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो । महिलालाई हराए दुनियाँले के भन्छन् ?’
कार्यक्रममा देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए । ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ ।’











