
पोखरा । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताएका छन् ।
पोखराका विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताएका हुन् ।
उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने बताए ।
पोखरालाई स्वदेश तथा विदेशमा पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने बताउदै आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने विश्वास दिलाए । उनले महानगरको कार्यप्रणालीमा म भन्ने अवस्था बदलेर हामी भन्ने प्रद्धति स्थापित गर्ने बाचा समेत गरे । महानगर भित्रै जातीय रुपमा विभेदका केही स्वरुप बाँकी रहेको उल्लेख गर्दै उनले त्यसलाई हटाउन योजनावद्ध प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले सघाउने उल्लेख गरिन् । उमेदवार रानाभाटले पोखरामा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले पोखरामा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै उनले विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको बताईन् ।
बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा विकास गरिने उनले बताईन् । महिला सशक्तिकरणमा जोड दिदै उनले सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने पनि बताईन् ।











