
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन एमाले अध्यक्ष केपी ओली पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि पराजित मानसिकतामा पुगेको बताएका छन् ।
गृहजिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप समेत लगाए ।
‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ । बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं । ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने । ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए ।
यस्तै नेता पुनले ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको आरोप समेत लगाए । ओलीले स्थानीय तह निर्वाचनमा राजावादी दल राप्रपासहित राप्रपा नेपालसँग समेत गठबन्धन गरेको नेता पुनले टिप्पणी गरेका हुन् । पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’
ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने गर्ने पनि बताए ।
नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।
अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र काँग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा जनताले समेत बुझ्ने मौका पाएको पुनको भनाई थियो ।











