Logo
Logo

कांग्रेसले उल्टो बाटो समात्यो : ओली


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएका बताएका छन् । ओलीले सरकारबाट बाहिरिएका बेलाका प्रसंग निकाल्दै कांग्रेसको षड्यन्त्रले चरम रूप लिएको दाबी हुन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले कांग्रेसले उल्टो बाटो समातेको समेत टिप्पणी गरे ।

ओलीले भने ‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो । कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम ग¥यो । उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको समेत बताए ।

‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो’ ओलीले भने, ‘संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास ग¥यो । संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पु¥यायो ।’

एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरेपनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘त्यसबेला एमाले सरकारका सामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो । तर अदालतको परमादेशले सरकार बदलियो । विकास अभियान फेरि एकपटक अवरूद्ध भयो । चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौँ ।’

उनले एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दावी गर्दै भने, ‘एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्चयबाट ग्रसित र विवश छन् । जुन ती दलका नेताहरुले नै स्वीकार गरेका छन् ।’

‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पस्ट भैसकेको छ’, ओलीले भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

ओलीले एमालेको सरकार नआइञ्जेल देशको विकास नहुने समेत दावी गरे । उनले एमालेप्रति जनताको विश्वास रहेको बताउँदै उनले भने, ‘अब पाँच वर्ष एमालेले सरकार चलाउँछ । त्यसपछि नेपाली जनताले विकासको अनुभूति गर्न पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्