काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ अन्तर्गत सातौँ प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।
७२ होलमा खेलाइने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा खेलाइने बताइएको छ । बिहीवारसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ व्यावसायिक र १४ एमेच्योर खेलाडी सहभागी हुनेछन् ।
सुरुवाती ३६ होलको नतिजाका आधारमा कट गरी बाँकी ३६ होलका लागि २१ व्यावसायिक र ६ एमेच्योर गल्फरहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
७ लाख ७५ हजार कूल पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि विजेताले १ लाख ३५ हजार र उपविजेताले ८८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा, रवि खड्कालगायत व्यावसायिक गल्फरहरुलाई १३ औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता सुवास तामाङजस्ता एमेच्योर खेलाडीले चुनौति दिँदैछन् ।











