मंगलबारे । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
उक्त गाउँपालिका–५ को जमुनामा बुधवार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।
उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।
मौन अवधिमा दुवैजनालाई प्रचार–प्रसारका काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकोे हो ।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।
मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए ।
आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।














