Logo
Logo

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन


126
Shares

नेपालगञ्ज । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन गरिएको छ ।

शुक्रवार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् । जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको छ ।

प्रजिअ खत्रीले भारतसँंग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए ।

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्