Logo
Logo

तनहुँमा नेपाली सेनाको १० बेसक्याम्प स्थापना


567
Shares

तनहुँ । शुक्रवार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ ।

जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ । जोखिम क्षेत्रलाई मध्यनजर गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

बेसक्याम्प स्थापना गरी नेपाली सेनाले वस्तुस्थिति बुझ्ने कार्य गरिरहेको छ । उनले भने, “मतदान केन्द्रमा कुनै घटना भएमा बढीमा ३० मिनेटमा नेपाली सेना घटनास्थलमा पुग्ने योजना बनाएका छौँ ।” मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने अवस्था देखिएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप सेना परिचालन गरिनेछ ।

बेसक्याम्पबाट नजिक रहेका मतदान केन्द्रमा बढीमा १० मिनेटमै सेनाको टोली घटनास्थलमा पुगिसक्नेछ । उच्च जोखिम मानिएका क्षेत्र नजिक नेपाली सेनाले बेसक्याम्प स्थापना गरेको हो ।

स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रका लागि आवश्यक ६१ प्रकारका सामान, मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी एकैसाथ पठाइएको हो ।

जिल्लामा १० पालिकाका कूल ४४५ उम्मेदवारका लागि एक हजार ६३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्