काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेता गुुरुङले मौन अवधि लागू भइसकेपछि बुधबार बिहान एक अनलाइनमा प्रकाशित समाचार सामाजिक सञ्जालमा सेयर गर्दै एमाले उम्मेदवारका लागि भोट मागेका थिए । उनको एकाउन्टबाट बुधबार बिहान सवा ८ बजे भिडियो पोष्ट गरी आचारसंहिताविपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।
‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो ?’ आयोगले नेता गुरुङलाई सोधेका छन् ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ (घ) बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने व्यवस्था छ ।














