काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुँदै गरेको स्थानीय तह निर्वाचनमा निर्धक्क भई मतदान गर्न सम्पूर्णमा आह्वान गरेकी छन् ।
आज देशभर हुँदै गरेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा हिजो सन्देश जारी गर्दै उनले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताइन् ।
समाज र राष्ट्रको विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो भनिन् ।
उनले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गरेकी छन् ।














