Logo
Logo

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने


441
Shares

दमौली । बिहान सातबजेदेखि सुरुवात भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् ।

त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । जिल्लाका दश पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरे । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

नागरिकलाई भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो । निर्वाचनलाई लक्षित गरी तनहुँमा दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

“निर्धक्कसाथ निर्वाचनमा मतदान गर्ने वातावरण मिलाउन सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ”, उनले भने, “निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सुरक्षा योजना बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिने छैन ।”

निर्वाचनका लागि ३६२ नेपाली सेना, एक हजार १८८ म्यादी प्रहरी, ८२० नेपाल प्रहरी र ३२६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन प्रकारमा मतदान केन्द्रलाई विभाजन गरेको छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा अन्य ठाउँभन्दा बढी सुरक्षा कडाइ गरिनेछ । बन्दीपुरको गाविस भवन धरमपानी, देवघाटको सिद्ध प्रावि, कोट बैदी देवघाटको गाविस भवन, रिसिङको बाल विकास मावि र शंकर प्रावि रुपाकोटलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ ।

भानुको राष्ट्रिय माध्यमिक विद्यालय, शुक्लागण्डकीको जनकल्याण प्राथमिक विद्यालय, भिमादको शंकर माध्यमिक विद्यालय डुम्रेबेँसी, बन्दीपुरको त्रिभुवन प्राथमिक विद्यालयलगायत ३८ मतदानस्थललाई संवेदनशीलमा वर्गीकरण गरिएको छ ।

जिल्लाका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्