
काठमाडौं । मन्त्री प्रेम आलेको गृह पालिका डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २ हजार ३ सय ४३ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीले १ हजार ६ सय ८४ मत प्राप्त गरे ।
त्यस्तै, नेकपा समाजवादीका भक्तबहादुर साउदले १ हजार ४ सय ७१ मत ल्याए । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । कांग्रेस उम्मेदवार डम्मरी कुमारी विष्टले २ हजार ४ सय ७ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरे ।
बडीकेदार गाउँपालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको गृह पालिका हो । बडीकेदारमा नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।











