काठमाडौं । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ ।

नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् ।
तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ । सामाजिक तथा आर्थिक विषयले पनि त्यति सहज नभएको जानकारहरूले टिप्पणी गरिरहेको बेला राजाबाबु यादवको जीत आफैँमा महत्वपूर्ण देखिन्छ ।
राजनीतिमा प्रौढ र वृद्धहरूको मात्रै बोलवाला चलिरहेको छ भन्ने चर्चाका बीच युवाको सशक्त उपस्थितिले सकारात्मक प्रभाव पारेको छ । आज सार्वजनिक भएको परिणामअनुसार रामनगर गाँउपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादव मात्रै २२ वर्षका छन् । उनले चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका यादव माओवादी जनयुद्धले स्थापित गरेको मूल्य र मान्यतालाई स्थापित गराउन राजनीतिमा युवाको सहभागिता बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू जनतामा गएको बताउँदै आएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दप्रसाद यादवले दुई हजार ३९२ मत मात्रै प्राप्त गरेका छन् । राजाबाबुको समूहबाटै उपाध्यक्षमा गीता देवी निर्वाचित भएका हुन् ।
उनले कूल तीन हजार ५२३ मत हासिल गरेका छन् । २२ वर्षीय युवकले निर्वाचनमा जीत हासिल गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक चर्चा भएको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा केही समयअघिसम्म सञ्चारकर्ममा रहेकाले समेत विजयी भएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहेका रमेश आचार्य धादिङको धुनीबेँसी नगरपालिका–६ बाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनु भएका आचार्य धादिङको पत्रकारितामा सक्रिय थिए । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका आचार्यले ८१७ मतका साथ जीत हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय तामाङले ५३२ मत प्राप्त गरेका थिए । प्रेस सेन्टर नेपाल जाजरकोटका पूर्व जिल्ला अध्यक्ष वसन्तप्रसाद शर्मा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ को वडाध्यक्षमा पत्रकार भोजराज कार्की निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कार्कीले ४१२ मत ल्याएर कांग्रेसका मणिराम राईलाई पराजित गरे।
सो वडामा कार्कीको प्यानल नै निर्वाचित भएको छ । कार्की नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै जीत हासिल गरेका छन्।
यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा एमालेका हिरासिंह धामी पनि पूर्वसञ्चारकर्मी नै छन्। उनी चार हजार ३४ मत प्राप्त गरी निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले तीन हजार ३२२ मत प्राप्त गरेका थिए । पत्रकार महासङ्घ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका धामीले दुई दशक बढी समय पत्रकारितामा बिताएका थिए ।
उनले निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पराजित गरेका हुन् । सो गाँउपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भए ।
पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाएको स्पष्ट देखिन्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेका देखिएका छन् । माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी०को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रियरूपमा सहभागी गराइरहेका छन् ।
दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा क्रान्तिकारीको सचिवको जिम्मेवारीमा थिए । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित भए ।
खरेल अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो ।
सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका खरेलले ५५२ मतसहित विजयी भए । सो वडामा कूल ८०० मत खसेको थियो ।
यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभएका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित भएका छन् ।
लामो समयसम्म अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वमा रहेका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय थिए।














