काठमाडौं । ओखलढुङ्गामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेको छ ।
चिशंखुगढी गाउँपालिका–३ को मतगणना गर्दा नेपाली कांग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेदवारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि कांग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।
मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार कााग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।
चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले कााग्रेसको प्रतिनिधिले मतगणनाको क्रममा बदर भनेर राखिएको दुई थान मतपत्र तारजाली बाहिरबाट हात हालेर तानेर च्यातेको बताए ।
चिसंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षको उम्मेदवारको मत बराबरी आएको छ ।











