Logo
Logo

पाँचथरमा नेकपा एमाले ‘क्लिन स्वीप’ हुने खतरा


44.1k
Shares

फिदिम बजार

पाँचथर । स्थानीय तह निर्वाचन अन्र्तगत मतगणना जारी छ । प्रारम्भिक रुझान हेर्दा अधिकांश तहमा नेकपा एमाले पराजित हुने अवस्था देखिन्छ ।

नेकपा एमाले राम्रो दावी गर्दै आएको पाँचथरमा पनि यसपटक सत्तारुढ गठबन्धनसामु एमाले कमजोर देखियो । पाँचथरका ८ स्थानीय तह मध्ये ३ पालिकामा गठबन्धन दल नेपाली कांग्रेस विजयी भइसकेको छ । बाँकी रहेका ५ पालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार पाँच वटै पालिकामा एमालेले अग्रता लिन सकेको छैन ।

कुम्मायक गाउँपालिकामा गबठन्धन विजयी भएको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बमप्रसाद लावती ३०५७ मतसहित निर्वाचित हुँदा निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भीमप्रसाद लिम्बू २९०० मत प्राप्त गर्दै पराजित भए ।

युम्मायकको उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का गठबन्धनका साझा उम्मेदवार हुन् । उनी २७५८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सीता आचार्य २७२४ मत प्राप्त गर्दै पराजित भए ।

त्यसैगरी, फालेलुङ गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार वीरविक्रम थाम्सुहाङ गठबन्धनका साझा उम्मेदवार हुन ।

थम्सुहाङ ५७७९ मतसहित विजयी हुँदा मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जयप्रकाश केरुङ २६२१ मतसहित पराजित भए ।

फालेलुङको उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । माओवादी केन्द्रका महेन्द्रहाङ जबेगु गठबन्धनका उपाध्यक्ष उम्मेदवार हुन् ।

जबेगु ५२१४ मतसहित उपाध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुजाता वान्तावा राई २७७५ मतसहित पराजित भए ।

त्यसैगरी, हिलिहाङ गाउँपालिकामा पनि गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी साझा उम्मेदवार हुन् ।

अधिकारी ४५६५ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भुवानीप्रसाद लिङ्देन ४३५८ मत प्राप्त गर्दै पराजित भए ।

हिलिहाङमा भने गठबन्धनले उपाध्यक्ष गुमायो । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्षका उम्मेदवार भुवानीप्रसाद लिङ्देन ४११८ मत प्राप्त गर्दै पराजित हुँदा नेकपा एमालेका सुमित्रा उप्रेती ४१४६ मत प्राप्त गर्दै विजयी भए ।

०००

सत्तारुढ गठबन्धनले ३ पालिका जिते पनि एमालेले खाता खोल्न सकेको छैन । मतगणना जारी रहेको पालिकाहरुमा पनि एमाले पछि परेको छ ।

तुम्वेवा गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बाबुराम खड्का २१५६ मतसहित अग्रस्थानमा छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गोविन्दबहादुर तामाङ १७७७ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी, फाल्गुनन्द गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ५६२४ मतहित अग्रता कायम गरेका हुन् । मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका वीरबहादुर कुरुम्बाङ ४५५५ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, सदरमुकाम फिदिम नगरपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मित्रप्रसाद काफ्लेले ६३७१ मतसहित अग्रता कायम गरेका छन् । मुख्यम प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका पृथ्वी लावती ५९६८ मतसहित प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, मिक्लाजु गाउँपालिकामा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अमरराज माखिम अध्यक्षका उम्मेदवार हुन् । माखिमले ३९८७ मतका साथ अग्रता कायम गर्दा मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका नरेन्द्रकुमार बस्नेतले ३२७६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, याङवरक गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । याङवरकमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मविन्द्र योङया अध्यक्षका उम्मेदवार हुन् । योङयाले २१६४ मतसहित अग्रता कायम गर्दा मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका भीमबहादुर योङया १९६२ मतसहित दोस्रो स्थानमा छन् ।

अहिलेकै अवस्थमा गठबन्धनका उम्मेदवारले अग्रता कायम गर्दै जाने हो भने यसपटक पाँचथरमा नेकपा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था देखिन्छ । अग्रता कायम गरेका बाँकी पालिका सबै जित्ने हो भने पाँचथरका सबै पालिकाको प्रमुख कांग्रेसले कब्जा गर्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्