Logo
Logo

मतान्तर बढाउँदै बालेन, पछ्याउँदै स्थापित र सिर्जना


5.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार अग्रता लिइरहेका छन् । साहले सोमबार फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।

सोमबार रातिको मतपरिणामअनुसार बालेनले ८४२० मत प्राप्त गरेका छन् । बालेनले ल्याएको यो मत उनका प्रतिस्पर्धी भन्दा दोब्बर हो । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ४४३६ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेका नेपाली कांग्रेसका सिर्जना सिंहले ३८८१ मत प्राप्त गरेका छन् । केशव र सिर्जनाको मत जोड्दामसेत बालेन अगाडि छन् ।

यस्तै, राप्रपाको तर्फबाट मेयरको उम्मेदवार रहेका मदनदास श्रेष्ठले ५२१ मत ल्याएका छन् भने अर्का मेयरका स्वतन्त्र उम्मेदवार सुगम सायमीले २८१ मत ल्याएका छन् । यो मत परिणाम सोमबार राति सोढे ११ बजेसम्मको हो ।

यस्तै, महानगरको उपमेयरमा नेकपा एमालेका सुनिता डंगालले सुरुदेखि नै अग्रता लिँदै आएकी छन् । उनले अहिलेसम्म ६३४६ मत प्राप्त गरेकी छन् । सुनिताको यो लोकप्रिय मत हो । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १६९० मत ल्याएका छन् भने अर्का प्रतिस्पर्धी राप्रपाका विनिता मगैयाले १३४५ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरको सोमबारदेखि सात स्थानमा मतगणना भइरहेको छ । सातै वटा मतगणना स्थलमा स्वतन्त्र उम्मेदावर बालेन अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्