Logo

जनार्दनको जिल्ला रुकुममा पाँच वर्षमै भत्क्यो माओवादीको ‘लाल किल्ला’



पश्चिम रुकुम । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रले आधार क्षेत्र पश्चिम रुकुमबाट सबै दललाई ‘क्लिन स्वीय’ गरेको थियो ।

माओवादीका प्रभाशाली नेता तथा हालका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभारक’को गृह जिल्ला रुकुम पश्चिममा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह छन् ।

अघिल्लो निर्वाचनमा ६ वटै स्थानीय तहको प्रमुख र उपप्रमुख जितेर अरु दललाई ‘क्लिन स्वीप’ गर्दै माओवादीले ‘लाल किल्ला’ स्थापित गरेको थियो । तर, माओवादीको ‘लाल किल्ला’ पाँच वर्ष पनि टिकेन । यसपटक माओवादीले एक पालिका गुमाइसकेको छ । सम्भवत अर्को पालिका पनि गुमाउन सक्छ ।

०००

अघिल्लो निर्वाचनमा ३५६४ मतसहित माओवादी केन्द्रका धर्मबहादुर केसी बाँफिकोट गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । नजिकका प्रतिस्पर्धी थिए, नेपाली कांग्रेसका जनककुमार बाँठा मगर । उनले २८१३ मत पाएका थिए ।

यसपटक भने कांग्रेसले माओवादीबाट बाँफिकोट खोस्यो । अघिल्लो निर्वाचनमा अध्यक्ष पराजित कांग्रेस उम्मेदवार जनककुमार बाँठा मगर यसपटक अध्यक्ष निर्वाचित भए । बाँठाले ४४४५ मत पाउँदा माओवादीका उम्मेदवार चन्द्रबहादुर केसी ४४२४ मत प्राप्त गर्दै झिनो मतले पराजित भए ।

बाँफिकोटमा यसअघि माओवादीका उम्मेदवार मनकला पुन ३५७९ मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । यसपटक पनि उपाध्यक्ष भने माओवादीले नै राखेको छ । माओवादीका उपाध्यक्ष उम्मेदवार तारा बुढा केसी ४५६० मतसहित निर्वाचित भए ।

बाँफिकोटमा माओवादीका उपाध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने अध्यक्षका उम्मेदवार चन्द्रबहादुरले पार्टीको सबै मत नपाएको माननुपर्ने हुन्छ ।

कांग्रेसबाट बाँफिकोटको अध्यक्ष निर्वाचित जनककुमार बाँठा मगर

०००

सानी भेरी गाउँपालिकामा माओवादीले विजयी यात्रालाई निरन्तरता दिएको छ । अघिल्लो निर्वाचनमा माओवादीका नरबहादुर पुन ४६५० मतसहित अध्यक्ष निर्वाचित भएका थिए ।

कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्द मुख्य प्रतिस्पर्धी थिए । उनले २६१४ मात्र मत पाएका थिए ।

सानी भेरीमा यसपटक पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । माओवादीका वीर्खबहादुर विष्ट ६०१९ मतसहित अध्यक्ष निर्वाचित भए ।

कांग्रेसबाट यसपटक पनि अघिल्लो निर्वाचनकै उम्मेदवार गोरखबहादुर चन्द उम्मेदवार थिए । चन्द यसपटक पनि पराजित भए । तर, यसपटक भने चन्दले १७०६ मत बढाएका छन् ।

त्यसो त सानी भेरीमा माओवादीको पनि मत बढेको छ । अघिल्लो निर्वाचनमा ४६५० मत पाएको माओवादीले यसपटक ६०१९ मत पाएको छ । यसपटक माओवादीले १३६९ मत बढाएको हो । तर, माओवादीले कांग्रेसभन्दा कम मत बढायो ।

०००

मुसिकोट नगरपालिका माओवादीका प्रभावशाली नेता तथा हालका अर्थमन्त्री जनार्दन शर्माको गृहनगर हो ।

मुसिकोटमा अघिल्लो निर्वानमा माओवादीले झिने मतले मेयर जितेको थियो । माओवादीका देवीलाल गौतम ४३५० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका महेन्द्र केसी १७६ मतले पराजित भएका थिए । केसीको पक्षमा ४१७४ मत खसेको थियो ।

अघिल्लो निर्वाचनमा मुसिकोट जितेको माओवादीलाई यसपटक भने जित निकाल्न हम्मे–हम्मे परेको छ । कांग्रेसबाट अघिल्ला प्रतिस्पर्धी केसी नै मेयरका प्रतिस्पर्धी छन् । अहिलेसम्म उनले ४२६४ मत पाइसकेका छन् भने माओवादीबाट अध्यक्षका उम्मेदवार बसन्तकुमार शर्मा ३४७० मतसहित विजयी दौडमा छन् ।

जानकारी अनुसार गणना गर्न बाँकी सबै मत माओवादीको पक्षमा आए मात्र माओवादीका उम्मेदवार शर्मा विजयी हुन् अवस्था छ ।

अन्य पालिकाहरु आठबिसकोट, चौरजहारी र त्रिवेणीमा भने माओवादीले नै अग्रता लिएको छ । यी पालिकाहरुमा यपिटक पनि माओवादीले नै जित्ने सम्भावना देखिन्छ ।

०००

अघिल्लो निर्वाचनमा अन्य दललाई ‘क्लिन स्वीप’ गरेको माओवादी यसपटक पनि ‘क्लिन स्वीप’ यात्रालाई निरन्तरता दिने योजनासहित अघि बढेका थिए । तर, बाँफिकोटमा कांग्रेस–एमाले तालमेल सामना गर्न नसक्दा माओवादीले पराजय व्यहोर्यो । बाँफिकोटको पराजयसँगै पाँच वर्ष अगाडि माओवादीले बनाएको ‘लाल किल्ला’ भत्केको छ ।

प्रतिक्रिया दिनुहोस्