Logo
Logo

महानगरमा ‘क्लिन स्वीप’ हुँदै एमाले, उपमहानगर पनि उस्तै


53k
Shares

काठमाडौं । महाभारतमा एउटा श्लोक छ– ‘जतिसुकै पानीमुनि गएपनि कहाँ बस्ला र दुर्योधन ।’ भीम भन्छन्– पानीमुनि गएपनि कहाँ बच्ला र त्यो ?’

स्थानीय तह निर्वाचनअघि भक्तपुरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘म यिनीहरू (पाँचदलीय गठबन्धन)लाई भन्न चाहन्छु, जति पानीमुनि गए पनि कहाँ बच्ला र यो गठबन्धन ? पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ, लगाइन्छ । चुनावपछि गठबन्धनलाई टर्च बालेर खोज्नुपर्छ ।’

पाँचदलीय गठबन्धनलाई ठेगान लगाउने घोषणा गरेका ओलीले अहिले एमालेलाई ६ वटै महानगरपालिकासहित ठूला शहरमा टर्च बालेर खोज्नुपर्ने अवस्था आएको मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदासमेत ०७४ को निर्वाचनमा एमालेले काठमाडौँ र पोखरा महानगरपालिकासहित ११ मध्ये ७ उपमहानगरपालिका जितेको थियो । तर, यसपटक एमाले सबै महानगरपालिका र उपमहानगरपालिकामा पछि परेको छ । ६ महानगरपालिकामध्ये विराटनगर, वीरगञ्ज, ललितपुर, पोखरा र भरतपुरमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । काठमाडौंमा हालसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

सबै महानगरपालिका र उपमहानगरपालिकासहित ठूला शहरका पालिका हार्ने भएपछि बालकोटमा छटपटी सुरु भएको छ ।

गत वैशाख ३० गते मतदान सम्पन्न भएपछि सरोकारवाला सबैलाई धन्यवाद दिएको एमालेले तीन दिनपछि नतिजामा पछि पर्न थालेपछि निर्वाचनमा व्यापक धाँधली भएको भ्रम फैलायो । ओलीले महासचिव शंकर पोखरेललाई निवासमै बोलाएर निर्वाचनमा धाँदली भएको प्रेस वक्तव्य जारी गर्न निर्देशन दिए ।

मतगणना सुरु हुनुभन्दा अघि आशावादी बनेर प्रेस विज्ञप्ति निकालेका ओलीले एमालेको पक्षमा निराशाजनक परिणाम आउन थालेपछि ‘धाँधली भयो भनेर’ विज्ञप्ति जारी गर्नु लोकतान्त्रिक अभ्यासको खिलापमा रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

कम्तीमा एउटा महानगरपालिका जित्ने आश पालेका ओलीले सबै गुम्ने देखेपछि छटपटी चलेको चर्चा हुने गरेको छ । गठबन्धन दलका नेताहरूले भने प्रारम्भिक नजिताबाटै एमाले आत्तिएको बताएका छन् ।

एमालेको गढमै बालेनलाई मत
काठमाडौँमा नेकपा (एमाले)को प्रभाव क्षेत्रको रुपमा चिनिएका वडामै एमालेका केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन साहले पछाडि पारेपछि एमालेजन आत्तिए ।

स्थापितमाथि मिटु, भ्रष्टाचार र अनियमितताको आरोप लाग्दा पनि ओलीले ‘जित्ने उम्मेदवार स्थापित नै हुन’ भन्दै कार्यकर्तालाई भ्रममा पारेका थिए । सचिव योगेश भट्टराईले मंगलबा यो कुराको पुष्टि गरे ।

पाँचदलीय सत्तारुढ गठबन्धनका नेताहरू भने काठमाडौँको प्रारम्भिक परिणामले उत्साहित देखिएका छन् । गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको उनीहरुको दाबी यथावत छ ।

काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी मेयर–उपमेयर जित्न ६० देखि ७० हजार मत आवश्यक पर्ने र मतको ट्रेन्ड हेर्दा गठबन्धनको जित निश्चित देखिएको बताउँछन् ।

२०७४ को निर्वाचनमा काठमाडौँको मेयर एमालेका विद्यासुन्दर शाक्यले विशाल मतान्तरले जिते पनि यसपटक उनले टिकट नै पाएनन् ।

विवादित स्थापितलाई केपी शर्मा ओलीले टिकट दिएपछि एमालेभित्रै चरम असन्तुष्टि छाएको छ भने ‘न्युटल’ भोट पनि एमालेले गुमाएको छ ।

गठबन्धनको तर्फबाट काठमाडौँको मेयरमा कांग्रेसका सिर्जना सिंह र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठ उम्मेदवार छन् । एमालेबाट मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोल चुनावी मैदानमा छन् । काठमाडौँमा गठबन्धनको प्रभाव क्षेत्रको मतगणना हुन अझै बाँकी छ ।

पोखरामा मतान्तर बढाउँदै धनराज
पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले मतान्तर बढाउदै लगेका छन् । एमालेको प्रभाव क्षेत्रको रुपमा हेरिएका ठाउँबाट समेत आचार्यले राम्रो मत पाइरहेका छन् । सुरुदेखि नै अग्रता लिएका आचार्यले निरन्तर मतान्तर बढाउदै लगेका छन् ।

वडामा एमालेलाई मत दिएका एमालेका मतदातालेसमेत मेयरमा गठबन्धनको कलम रोजेका छन् । पोखरामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा कांग्रेसका कोपिला रानाभाट तथा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङ प्रतिस्पर्धामा छन् ।

वीरगञ्जमा एमाले विजोग
जसपाबाट एमाले प्रवेश गरी वीरगञ्ज महानगरमा मेयरका उम्मेदवार बनेका विजय सरावगी गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहभन्दा निकै पछाडि परेका छन् । जबकी अध्यक्ष ओली आफै वीरगञ्ज पुगेर सरावगीलाई मेयर बनाउने आवश्वासन दिएर एमाले प्रवेश गराएका थिए ।

सरावगी यसअघि जसपाबाट वीरगञ्जको मेयर थिए । वीरगञ्जमा गठबन्धनबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इस्तियाज आलम तथा एमालेबाट मेयरमा सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झा मैदानमा छन् ।

भरतपुरमा रेनुको अग्रता
कांग्रेसका बागी उम्मेदवारका कारण भरतपुर महानगरपालिकामा भने गठबन्धनले थोरै मतान्तरले अग्रता लिएको छ ।

गठबन्धनबाट माओवादी केन्द्रका रेनु दाहालले प्रारम्भिक मतगणनामा सबैभन्दा बढी मत पाउँदा एमालेका विजय सुवेदी दोस्रो र कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १०–११ प्रतिशतका दरले मत ल्याइरहेका छन् । भरतपुरमा राप्रपा नेपाल, परिवार दलका साथै राप्रपासँग गठबन्धन गरेर एमाले चुनावमा गएको हो ।

माओवादी नेताहरु रेनुको जित सुनिश्चित रहेको बताउँछन् । भन्छन्– ‘आजसम्म गणना गरिएको बुथबाट रेनुलाई यति मत आउँछ भन्ने आशा थिएन । तर, धेरै राम्रो मत आयो । बाँकी वडाको मतगणनाले रेनुको जित सुनश्चित हुन्छ ।’

एमालेले भरतपुरको उपमेयर पदमा राप्रपालाई अघि सारेको छ । भरतपुरमा गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रशेन अधिकारी तथा एमालेबाट मेयरमा विजय सुवेदी र उपमेयमा हिमला गुरुङ मैदानमा छन् ।

ललितपुरमा चिरिबाबुको लहर
ललितपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले सुरुदेखि नै अग्रता लिइरहेका छन् । २०७४ को स्थानीय निर्वाचनमा महर्जनसँग झिनो मतान्तरले पराजित भएका एमालेका हरिकृष्ण व्यञ्जनकार यसपटक भने भारी मतान्तरले हार्ने निश्चित भएको छ ।

व्यञ्जनकारभन्दा महर्जन झन्डै तेब्बर मतान्तरले अगाडि छन् । गठबन्धनबाट ललितपुरमा मेयरमा कांग्रेसका महर्जन र उपमेयरमा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य तथा एमालेबाट मेयरमा व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य मैदानमा छन् ।

विराटनगरमा विशाल मतान्तर
विराटनगरमा एमालेलाई पछि पार्दै गठबन्धनका उम्मेदार विशाल मतान्तरले अगाडि छन् । कांग्रेसका नागेश कोइराला एमालेका सागरकुमार थापाभन्दा झण्डै दोब्बर मतान्तरले अगाडि छन् । गठबन्धनबाट मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव तथा एमालेबाट मेयरमा सागरकुमार थापा र उपमेयरमा शिल्पा कार्की चुनावी मैदानमा छन् ।

उपमहानगरमा उकुसमुकुस
तुलसीपुर महानगरपालिकामा एक उम्मेदवारको निधन भएका कारण वैशाख ३० गते मतदान हुन सकेन । हाल १० वटा पालिकाको मतगणना भइरहेको छ । जसमध्ये ९ उपमहानगरपालिकामा एमाले निकै पछि परेको छ ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् भने कलैया उपमहानगरमा मात्रै एमाले झिनो मतान्तरले अगाडि छ । जबकी ०७४ को निर्वाचनमा एमालेले ११ मध्ये सात उपमहानगर जितेको थियो ।

एमालेले अघिल्लोपटक जितेको इटहरी, जितपुर सिमरा, घोराही, हटौंडा र बुटवल पनि गुमाउने अवस्था बनेको छ । ठूला जनमत भएको महानगर र उपमहानगरलाई दलहरूले प्रतिष्ठाको रुपमा लिने गर्छन ।

नेपालगञ्ज उपमहानगरपालिकामा एमाले उम्मेदवार पशुपति दयाल मिश्र तेस्रो स्थानमा छन् । ओली नेपालगञ्ज पुगेर मिश्रलाई पार्टी प्रवेश गराएर टिकट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्