Logo
Logo

राहुल गान्धीबाट के सिक्ने ?


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ

आफ्नो सिंगो जीवन लोकतान्त्रिक आन्दोलनमा बिताएका हाम्रा पाका नेताहरुलाई नैतिकताको पाठ पढाउनु मुर्खता होला । तर, छिमेकी भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले सर्मनाक पराजय भोगेपछि त्यसका अध्यक्ष राहुल गान्धीले नैतिकताको आधारमा राजीनामा दिए । यदि राजनीतिमा नैतिकता भन्ने शब्दको अर्थ नभएको भए गान्धीले राजीनामा दिने थिएनन् । निर्वाचन हारेर राजीनामा दिनु उनको नैतिक विजय हो । निर्वाचन जे जति कारणले हारे पनि त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिएर राजीनामा दिएको कुरा उनले नयाँदिल्लीस्थित संसद भवनमा पत्रकारसामु बताए । भारतमा हालै सम्पन्न १७ औँ लोकसभाको निर्वाचनमा ५४३ सिटमध्ये भारतीय जनता पार्टीले ३०३ सिट एक्लैले जित्न सफल भएको थियो भने, कांग्रेसले ५२ सिटमा चित्त बुझाउनु प¥यो । त्यसमध्ये अमेठीबाट राहुल गान्धी स्वयं पराजित भए ।

शम्भु श्रेष्ठ

सत्तापक्ष र प्रतिपक्षको सिद्धान्त, विचार, नीति नदीका दुई किनारा जस्तो भए पनि चरित्र भने टुकुचा नदीको जस्तो बन्दै गएको छ । देशको जिम्मा बोकेका सत्तापक्ष र प्रतिपक्षका नेताहरुले सोच्ने बेला आएको छ– मैले किन ? केका लागि राजनीति गरेँ । यदि हाम्रा नेताहरुले यो प्रश्नको उत्तर आफूभित्र खोज्ने प्रयास गरे भने उनीहरुले सम्झनुपर्ने एउटा शब्द हो– नैतिकता । नैतिकताविनाको राजनीतिले देशलाई बर्बादीतर्फ उन्मुख गरेको हुन्छ । नैतिकताविनाको राजनीतिमा लोकतन्त्र पनि फस्टाउन सक्दैन ।

त्यो भन्दा एक वर्ष अगाडि नेपालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा २७५ सिटमध्ये १७४ सिट वाम गठबन्धनले जित्यो र नेपाली कांग्रेस ६३ मा खुम्चियो । यसबाहेक सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धन अर्थात् नेकपाले बहुमत ल्यायो भने अधिकांश स्थानीय तहमा वाम गठबन्धन (नेकपा)ले जित्यो । नेपालमा संविधान जारी भइसकेपछि भएको प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले दुईतिहाइको हाराहारीमा मत पाएर संघ, प्रदेश र स्थानीय निकायको नेतृत्व गरिरहेको छ भने ६३ सिट जितेको कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसले आफ्नो विपक्षमा परिणाम आउनासाथ त्यसको नैतिक जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने कुरा उठाएको थियो । तर, पार्टी सभापति देउवाले आफ्नो कारणले नेपाली कांग्रेसले चुनाव हारेको नभई कांग्रेसभित्रको अन्तर्घातले निर्वाचन हारेको हाँस्यास्पद तर्क दिएर पद छाड्न मानेनन् । वास्तवमा भन्ने हो भने नेपाली कांग्रेसले तिनै तहको निर्वाचन हार्नुको कारण देउवाको ‘अक्षम’ नेतृत्व नै हो । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाजस्ता नेताले अगुवाइ गरेको नेपाली कांग्रेस, देउवाको नेतृत्वमा आएर पत्तासाफ होला भन्ने कुरा कसैले सोचेका थिएनन् । तर, परिणामले देउवाको नेतृत्वमाथि नैतिक प्रश्न उठाउँदा समेत उनले राजीनामा नदिनु भनेको उनको नैतिकतामाथिको प्रश्न हो । बरु पहिलो संविधानसभामा नेकपा एमालेले हार व्यहोरेपछि महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएर नैतिक जिम्मेवारी स्वीकारेका थिए ।

भारतमा राहुल गान्धीको राजीनामा, नेपालमा माधवकुमार नेपालको राजीनामा र अहिले नेपाली कांग्रेसमा देखिएको देउवाको हठले देउवा अलोकतान्त्रिक चरित्रका नेता हुन् भन्ने स्पष्ट पार्दछ । आफ्नो सभापति पद जोगाउन पार्टीको महाधिवेशनसम्म गर्न नखोज्ने देउवाले गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको आदर्श र विपी कोइरालाको सिद्धान्तबाट केही पनि शिक्षा लिएका रहेनछन् भन्ने कुरा स्पष्ट हुन्छ । राहुल गान्धीले पत्रकारसामु राजीनामा दिँदै भनेका थिए– ‘पार्टीको भविष्यको लागि जिम्मेवारवोध गर्नु सबैभन्दा ठूलो कुरा हो ।’ उनको यति शब्दले धेरै कुरा बोल्छ, राजनीति गर्नेहरुका लागि । तर, दुर्भाग्य राहुल गान्धीभन्दा पाका नेताहरु नेपालमा छन् । एकथरिले सरकारको नेतृत्व गरिरहेको छ, अर्काथरि प्रतिपक्षमा बसेको छ । यो सत्तापक्ष र प्रतिपक्षका नेताहरुको चरित्र, व्यवहार दाँजेर हेर्ने हो भने एउटा सिक्काका दुईवटा पाटाजस्ता देखिन्छन् । सत्तापक्ष र प्रतिपक्षको सिद्धान्त, विचार, नीति नदीका दुई किनारा जस्तो भए पनि चरित्र भने टुकुचा नदीको जस्तो बन्दै गएको छ । देशको जिम्मा बोकेका सत्तापक्ष र प्रतिपक्षका नेताहरुले सोच्ने बेला आएको छ– मैले किन ? केका लागि राजनीति गरेँ । यदि हाम्रा नेताहरुले यो प्रश्नको उत्तर आफूभित्र खोज्ने प्रयास गरे भने उनीहरुले सम्झनुपर्ने एउटा शब्द हो– नैतिकता । नैतिकताविनाको राजनीतिले देशलाई बर्बादीतर्फ उन्मुख गरेको हुन्छ । नैतिकताविनाको राजनीतिमा लोकतन्त्र पनि फस्टाउन सक्दैन । ०४८ सालदेखि अहिलेसम्म ठूला राजनीतिक परिवर्तन भएर पनि त्यसले देश र जनताको अनुहार फेर्न नसक्नुको एउटै कारण हो– नेपालको राजनीतिमा नैतिकताको खडेरी ।

प्रतिक्रिया दिनुहोस्