Logo
Logo

माओवादीको ‘लाल किल्ला’ जोगाउन नसकेका जनार्दनले गृहपालिका पनि गुमाए



फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय तह निर्वाचनमा गृहनगर गुमाएका छन् ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार महेन्द्र केसी निर्वाचित भएसँगै प्रभाकरले गृहनगर गुमाएका हुन् । प्रभाकरको घर मुसिकोट नगरपालिकामा पर्छ ।

मुसिकोटामा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार केसीसँग नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार बसन्तकुमार शर्मा पराजित भए । निर्वाचित केसीले ६ हजार ९१४ मत प्राप्त गर्दा पराजित शर्माले ६ हजार ९०१ मत मात्र प्राप्त गरे ।

उपमेयर भने नेकपा एकीकृत समाजवादीले जितेको छ । माओवादी–एकीकृत समाजवादी तालमेलबाट उपाध्यक्षका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १४० मतसहित निर्वाचित हुँदा नेकपा एमालेबाट उपमेयरका उम्मेदवार थलबहादुर ओली ५ हजार ९८५ मत प्राप्त गर्दै पराजित भए ।

अघिल्लो निर्वाचनमा पश्चिम रुकुममा माओवादीले ‘क्लिन स्वीप’ गरेको थियो । तर, यसपटक भने मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका माओवादीले गुमाएको छ ।

दुई गाउँपालिका गुमाएसँगै पाँच वर्ष अगाडि माओवादीले ‘क्लिन स्वीप’ गरेर बनाएको ‘लाल किल्ला’समेत भत्केको छ । त्यतिमात्र होइन माओवादीको प्रभावशाली नेता तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गृहपालिकासमेत गुमाएसँगै पश्चिम रुकुममा माओवादी कमजोर भएको छ ।

प्रतिक्रिया दिनुहोस्