काठमाडौं । नागरिकतामा उमेर ७४ वर्ष । वास्तविक उमेर आठ दशक अर्थात् ८० वर्ष । विष्णु दाहाल (लिम्बू) यो उमेरमा निकै खुसी छिन् । जनताले इलाम नगरपालिकाको उपमेयरको माला पहिर्याइदिएपछि खुसी साट्दै जनताको घर दैलोमा व्यस्त छिन्, उनी । मतदातालाई धन्यवाद दिँदै चुनावमा गरेका बाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दैछिन् ।
एमालेको प्रभावक्षेत्र मानिने इलाम नगरमा कांग्रेसका तर्फबाट लिम्बूले १३ हजार ५ सय ४२ मत प्राप्त गरेर चुनाव जितिन् । मेयरमा पनि कांग्रेसका केदार थापा निर्वाचित भए । एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको गृहनगर इलाममा यसपटक भने एमाले पराजित भयो ।
उपमेयरमा एमालेकी सीतादेवी रिजाल उम्मेदवार थिइन् । उनले १० हजार ८८ मात्रै मत ल्याइन् । २०४८ को स्थानीय निर्वाचनपछि कांग्रेसले पहिलोपटक इलाममा जित हासिल गरेको हो । ‘मेरो प्राथमिकता नगरको सुशासन, समृद्धि र महिला अधिकार हो,’ उत्साहित हुँदै उपमेयर लिम्बूले भनिन् ।’ ७० वर्षभन्दा माथिको उम्मेदवार बन्ने उनी जिल्लामा एक मात्र महिला उम्मेदवार थिइन् ।
महिला अधिकार आन्दोलनमा लिम्बूको नाम जिल्लामै अग्रणी स्थानमा आउँछ । महिला जागरण संघ नामको संस्था स्थापना गरेर जिल्लाभर महिला जागरणको अभियानमा लागेकी लिम्बूले दुःखमा परेका महिलाहरूका लागि सहारा बनेर काम गर्दै आएकी छन् । लिम्बू २०४६ साल देखि नै काग्रेसमा आवद्ध भएकी हुन् । ‘नागरिकको सेवा गर्ने मेरो यो अन्तिम अबसर हुन सक्छ,’ उनले भनिन् । विकृतिविरुद्ध चर्को आवाज उठाउने, उनले इलामको सहकारी अभियानलाई पनि उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पु¥याएको जनहित सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराई बताउँछन् ।
‘विष्णु दिदीले साथ नदिएको सहकारी जिल्लामा कमै होलान्,’ भट्टराईले भने । २०३८ साल देखि नै लिम्बू सामाजिक सेवामा निरन्तरता दिइरहेकी छन् । त्यस्तै, तुलाराम गुरुङ सन्दकपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । घर छेउको भगवती आधारभूत विद्यालयमा २८ वर्ष शिक्षण पेसा गरेका गुरुङ ७४ वर्षको उमेरमा गाउँपालिकाको सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेका छन् । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ५२ वर्षीय उदय राईलाई ९ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् ।
गठबन्धनका तर्फबाट कांग्रेसका गुरुङले ४ हजार २२३ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका राईले ३ हजार २५८ मत प्राप्त गरेका थिए । शिक्षण पेशा छोडेर २०५३ देखि राजनीति र समाज सेवामा लागेका गुरुङ पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको सन्दकपुर गाउँपालिकालाई समुन्नत बनाउने कुशल पात्रका रूपमा चिनिने गरेको स्थानीय युवा किरण रिजाल बताउँछन् । गुरुङको कार्यपालिका टिममा सन्दकपुर गाउँपालिका–२ बाट वडाध्यक्षमा विजयी नेकपा (एस) का २३ वर्षीय सनम राईसहितका युवा अनुहारहरू छन् ।
गुरुङ भन्छन् ‘जाँगरीला युवाहरू साथमा छन् । विवेक र जाँगरलाई प्रयोग गरेर उन्नत गाउँपालिका बनाउने छु ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।














