Logo
Logo

कोभिड, मङकीपक्स र युक्रेन युद्धका कारण विश्वलाई गम्भीर चुनौतीः डब्ल्यूएचओ


2.1k
Shares

काठमाडौं । विश्वले कोभिड, युक्रेन युद्ध र मङकीपक्सजस्ता विभिन्न चिन्ताजनक चुनौती सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

अफ्रिकाबाहिर १५ देशमा फैलिएको मङकीपक्सबारेको छलफलमा त्यस्तो बताएको बिबीसीले जनाएको छ । युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र इजरेलमा ८० भन्दा बढी व्यक्तिमा मङकीपक्स सरेको पुष्टि भइसकेको छ । तर बिफरजस्तै भाइरसबाट सर्ने यो रोगबाट सर्वसाधारणलाई निकै कम जोखिम भएको विज्ञको भनाइ छ ।

मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा भेटिने यो भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने र यसको संक्र्रमण गम्भीर प्रकृतिको नहुने बताइएको छ । यो भाइरस संक्रमणको केही सातामै बिरामी आफैँ निको हुने यूकेको नेशनल हेल्थ सर्भिसले बताएको छ । तर अफ्रिकाबाहिर यो रोग १५ देशमा फैलिनु विज्ञहरूका लागि अचम्मको विषय बनेको छ ।

यूकेका स्वास्थ्य अधिकारीले संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई ३ साता एकान्तवास बस्न सुझाव दिएका छन् शनिबारसम्म स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनमा संक्रमण पुष्टि भइसकेको बिबीसीले उल्लेख गरेको छ । आइतवार अस्ट्रिया र स्विट्जरल्यान्डमा पनि पुष्टि भएको थियो ।
बिफरको खोप मङकीपक्सविरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु यसको प्रारम्भिक लक्षण हुन् ।
एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ ।
त्यस्ता डाबर अत्यन्तै चिलाउने हुनसक्छन् ।

डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ । संक्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ ।

प्रतिक्रिया दिनुहोस्