
काठमाडौं । अखिल क्रान्तिकारीले जबरजस्ती करणीबारे कानुनमा भएको हद म्याद हटाउन माग गरेको छ । कानुनमन्त्री गोविन्द बन्दीलाई मन्त्रालयमै भेटेर क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ’ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन हिंसा गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ ।
क्रान्तिकारीकी अध्यक्ष पञ्चाले समाजको हरेक क्षेत्रमा यी र यस्ता घटनाहरु घटित भइ रहने तथा सामाजिक, आर्थिक, पारिवारिक कारण पीडितले समयमा आवाज उठाउन नसकेका धेरै उदाहरण रहेको बताइन् ।
‘यो घटना सार्वजनिक भएसँगै नेपालमा विध्यमान रहेको मुलुकी अपराध संहितामा रहेको जबरजस्ती करणी सम्बन्धी हदम्याद प्रमुख चासोको विषय रहेको छ । मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार घटना घटेको मितिले एक वर्ष भित्र उजुरी दिई सक्नु पर्ने प्रावधान रहेको देखिन्छ,’ अध्यक्ष पञ्चाले भनिन्, ‘जवरजस्ती करणी जस्तो संबेदनशिल, जघन्य महिला विरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट वंचित हुनुपरेको र पीडकको मनोबल वृद्धि अवस्था देखिँदा तुरुन्त हद म्याद खारेजीको लागि सम्बन्धित कानुन संसोधन गर्न जोडदार माग गर्दछौं ।’















