Logo
Logo

तुलसीपुरको उपप्रमुखमा पहिलो पटक थारू महिला


693
Shares

दाङ । दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ ।

तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शङ्करप्रसाद आचार्य थिए भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ थिए ।

त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा प्रमुख पदमा एमालेका ढुण्डिराज लामिछाने थिए भने उपप्रमुखमा एमालेकै घनश्याम पाण्डे थिए । पाण्डे २०७४ सालको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए । त्यस्तै उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित भएका थिए ।

अहिलेको निर्वाचनबाट भने तुलसीपुरले थारू महिला पाएको छ । नीति निर्माण तहमा थारू महिला पुग्नु भनेको थारू समुदायका लागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले बताए ।

‘तुलसीपुर थारू समुदायको बाहुल्यता भएको ठाउँ हो,’ उनले भने, ‘तर अहिलेसम्म प्रमुख, उपप्रमुखमा थारू महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।’

को हुन्, स्यानी ?

बालबालिका सडकमा हिँडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघिसकेको हुन्छ । के खाउँ, के गरौँ भइरहेको हुन्छ । यो दृश्य स्यानी चौधरीले देख्छन्, अनि उनका आँखा रसाउँछन् र सोच्छन्, यस्ता बालबालिकालाई मैले पाल्छु ।

न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग । मात्र आफ्नै लगानीमा दिदी सङ्घसंस्था दर्ता गरे । त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिए । तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित आफ्नै घरमा उनले उक्त संस्था सञ्चालनमा ल्याएर सहाराविहीन बनेका, सडकमा भौतारिएको हिँड्ने बालबालिकालाई आश्रय दिँदै आएका थिए ।

उनले आफ्नै कमाईबाट बालबालिकालाई पालन पोषण गर्न थाले । ‘मेरा छोराछोरी पनि छैनन्,’ उनले भने, ‘तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।’

उहिले उनीसँग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भए पनि केही महिनाअघि देखि फूलबारीमा पनि शाखा विस्तार गरेका छन् । विसं २०६१ मा उनले ‘दिदी घर’ संस्था सञ्चालन गरेका थिए ।

विसं २०६१ देखि २०७२ सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिब विद्यार्थीलाई आर्थिक सहयोग पनि गरे । उनकै आर्थिक सहयोगमा पढेका विद्यार्थी अहिले केही डिग्री पास पनि गरिसकेका छन् । कोहीले लयर पढ्दैछन्, कोही जागिरे छन् ।

विसं २०७३ देखि उनले १० जना बालबालिकालाई राखेका थिए । उनले बालबालिकालाई पालनपोषणदेखि शिक्षादीक्षासमेत दिने गरेका छन् । उनीहरुलाई पढाउनका लागि घरमै पनि शिक्षिका राखेका छन् ।

यस्तै बालबालिकाको पठनपाठन र शिक्षादीक्षाका लागि सर्वसुलभ र निःशुल्क शिक्षा बनाउने स्यानीले योजना बनाएका छन् ।

‘छोरी पढ्नु हुन्न भन्ने मान्यता थियो’

थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुन्, स्यानी । पढाइ जीवनका उनका सङ्घर्ष पनि कम छैनन् । उनको घर पहिले फूलबारी हो । त्यहाँ विद्यालय थिएनन् । त्यसैले उनी पढ्नका लागि उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा बर्सादको बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा हुन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँ पनि पौडी खेलेर वारपार गर्थे ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिइन् तर निकै कठिन सङ्घर्ष गरेर ।

‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो,’ उनले भने, ‘त्यसपछि म आँफै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे ।’ थारू समुदायमा व्याप्त कमैया, कम्लहरी प्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योगदान गरे ।

पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्नसमेत वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोसजाँगर दिने काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्