Logo
Logo

लालकिल्लाको अन्त्यः कसरी ढल्यो ओलीको साम्राज्य र फहरायो रास्वपाको झण्डा ? – भिडियोसहित


0
Shares

काठमाडौं । कुनै बेला एमालेको लालकिल्ला र ओलीको अभभेद्य गढ मानिने झापा–५, यसपटक नेपाली राजनीतिको यस्तो कुरुक्षेत्र बन्यो जहाँ एउटा युगको अवसान र नयाँ शक्तिको उदय भयो। हिजोसम्म जसको तस्बिर अंकित पोस्टरले चुनाव जितिन्थ्यो, आज उनै ओली आफ्नै आँगनमा रक्षात्मक मात्र बनेनन्, झन्डै ५० हजारको मतान्तरले पराजित भए । आखिर कसरी भत्कियो ओलीको त्यो दशकौँ पुरानो विरासत ? र कसरी बालेन शाहले झापाको माटोमा रास्वपाको झण्डा गाडे ?

जेनजी आन्दोलनपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ केवल एक निर्वाचन क्षेत्र मात्र थिएन, यो नेपाली राजनीतिको ‘इपिसेन्टर’ अर्थात् कम्पनको केन्द्रविन्दु बन्न पुग्यो । एकातिर नेकपा (एमाले)का सर्वशक्तिमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको अभेद्य किल्ला, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका युवा लहरका संवाहक बालेन शाह । यी दुई ध्रुवीय शक्तिबीचको टकरावले झापा–५ लाई राष्ट्रिय राजनीतिको कुरुक्षेत्रमा परिणत गरिदियो ।

चुनावी माहोल यस्तो थियो कि धेरैले यो भिडन्तलाई इन्डिया–पाकिस्तानबीच हुने क्रिकेट म्याचभन्दा पनि रोचक र प्रतीक्षित मानिरहेका थिए । चिया पसलका बहसदेखि सामाजिक सञ्जालका ‘टिकटक वाल’सम्म एउटै प्रश्न घुमिरहेको थियो– झापा पाँचमा कसको झण्डा गाडिएला ? तर मतगणनाको अन्तिम नतिजासँगै जनताले त्यस प्रश्नको स्पष्ट जवाफ पाइसकेका छन् । झापा पाँचमा रास्वपाले आफ्नो झण्डा गाडिसकेका छ, त्यो पनि सानदारसँग ।

चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओलीले आफैँले सिञ्चित गरेको एमालेको लालकिल्लाभित्र आफ्नो विरासत जोगाउन त सकेनन् नै, एक सम्मानजनक मतान्तर समेत कायम राख्न असफल रहे । बालेन शाहले ६८ हजार ३४८ मतको विशाल जनसमर्थन प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा खुम्चिन विवश भए । यो परिणामसँगै बालेन संसदीय इतिहासमै सर्वाधिक मत प्राप्त गरी निर्वाचित हुने कीर्तिमानी व्यक्तित्व समेत बनेका छन् ।

झापा–५ त्यही क्षेत्र थियो जहाँ कहिल्यै एमालेको प्रभाव घट्ने कल्पनासमेत गरिँदैनथ्यो । २०७४ र २०७९ को निर्वाचनमा एमालेका उम्मेदवारहरू प्रचार अभियानमा ओलीको तस्बिर प्रयोग गर्न पाउँदा गौरव ठान्थे । घोषणापत्रदेखि पोस्टरसम्म ओलीको फोटो हुन्थ्यो, सभाहरूमा उनको भाषण सुन्न भीड लाग्थ्यो । धेरै उम्मेदवारको आकांक्षा हुन्थ्यो– ओली आफ्नो क्षेत्रमा आएर एकपटक भाषण गरिदिऊन् । यही कारण आफ्नो गृहक्षेत्र झापा–५ मा ओली आफैँले समय दिन मुस्किल पथ्र्यो। स्थानीय नेताहरूले घरदैलो अभियान चलाउँथे भने ओली ‘स्टार प्रचारक’का रूपमा पूर्वदेखि पश्चिमसम्म चुनावी यात्रामा व्यस्त रहन्थे ।

तर तीन वर्षमै राजनीतिक दृश्य यति नाटकीय रूपमा फेरियो कि यसपटक परिस्थिति उल्टो देखियो । एमालेकै धेरै उम्मेदवारहरू ओली आफ्नो क्षेत्रमा नआए हुन्थ्यो भन्ने मनस्थितिमा पुगेका थिए । कतिपय उम्मेदवारहरूले ओलीको फोटो प्रयोग गरेर मत माग्नसमेत हिचकिचाए । झापा–५ बाहेक जिल्लाका अन्य चार क्षेत्रमा पनि उम्मेदवारहरूले ओलीलाई खुलेर चुनावी सभामा बोलाएर मत मागेनन् ।

ओलीको लोकप्रियता एमालेभित्रै प्रश्नको घेरामा परेको थियो । पार्टीको ११ औँ महाधिवेशनका क्रममा इतर नेताहरूले उनलाई अब नेतृत्वबाट अवकाश लिनुपर्ने आवाज उठाएका थिए । तर राजनीतिबाट विश्राम लिनुको सट्टा उनले महाधिवेशनमार्फत पुनः पार्टी नेतृत्वमा आफ्नो पकड बलियो बनाएका थिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्नुपरेको अवस्थाले ओलीलाई झनै रक्षात्मक बनाएको थियो । चुनावको घोषणा सुरुवातमा उनले आलोचना गरे पनि भित्रभित्रै उनी तयारीमा जुटिरहेका थिए । निर्वाचनअघि करिब छ महिनासम्म उनले झापा बाहेकका जिल्लाको भ्रमणसमेत गरेनन् । उता बालेन भने देशव्यापीरुपमा चुनावी प्रचारमा लागे । बालेनको लहरलाई निस्तेज पार्न ओलीले विभिन्न रणनीति अपनाए । सुरुमा उनले मतदाताका घर–घरमा पुगेर व्यक्तिगत रूपमा मनाउने प्रयास गरे । तर त्यो अभियान अपेक्षित रूपमा सफल हुन सकेन । त्यसपछि उनले टोल–टोलका प्रभावशाली व्यक्तिहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा भेटेर समर्थन जुटाउने रणनीति अपनाए। त्यो पनि प्रभावकारी हुन सकेन । त्यसपछि ओलीले बालेनका गतिविधि नजिकबाट नियाल्दै त्यसअनुसार प्रचार रणनीति बनाउने बाटो रोजे । तर यति धेरै रणनीति अपनाउँदा पनि परिस्थिति उनको पक्षमा फर्किएन । अन्तिम प्रयासका रूपमा दमकमा एमालेले शक्ति प्रदर्शन गर्ने कार्यक्रम राख्यो। तर त्यो कार्यक्रममा अपेक्षित भीडसमेत जुटेन। उल्टै मतदाताले सोधेका तीखा प्रश्नहरूले ओलीलाई झनै असहज बनायो ।

निर्वाचन मिति नजिकिँदै जाँदा सार्वजनिक अभिव्यक्तिले उल्टो असर पार्न सक्छ भन्ने बुझेर ओली झनै मौनजस्तै बने । तर अन्ततः चुनावी मैदानमा उनको सम्पूर्ण शक्ति पनि बालेनको लोकप्रियतामाथि भारी पर्न सकेन । २०६४ को संविधानसभा निर्वाचन बाहेक २०४८ सालदेखि प्रायः सबै चुनाव सजिलै जित्दै आएका ओली यसपटक आफ्नै ‘गढ’ मानिएको झापा–५ मै फराकिलो मतान्तरले पराजित भए । जसरी विगतमा ओलीले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गर्ने सामथ्र्य राख्दथे, यसपटक इतिहासले त्यही नियति उनीमाथि नै दोहो¥यायो। यो हार केवल एउटा सिटको क्षति होइन, बरु एउटा युगको अवसान र नेपाली राजनीतिमा नयाँ शक्ति र शैलीको उदयको शंखघोष हो ।

प्रतिक्रिया दिनुहोस्