काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । आइतबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सन्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन,’ अध्यक्ष नेपालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यही राजनीतिक व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, निरंकुश र भ्रष्ट भएको भन्दै दुःख व्यक्त गरेका छन् । गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रतिनिधिसभा विघटन गर्दा जनताले असफल बनाएको उनले स्मरण गरेका छन् ।
जनभावनाको कदर गर्दै संविधानबाट निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।











