काठमाडौं । सम्पर्कविहीन भएको तारा एअरको विमानले पोखराबाट तेस्रो उडान गर्दैथियो । आइतबार नै दुई पटक उडान गरेपछि तेस्रो उडानका क्रममा लेतेपास नजिक पुगेपछि विमान सम्पर्कविहीन भएको खुलेको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनुपर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।

अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरले विमानको खोनी गरिरहेको उनको भनाई छ । उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।
यसैबीच विमान खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।
पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो ।
विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।











