
काठमाडौं । सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन रु ८१ करोड विनियोजन गरेको जानकारी दिए।
सरकारले अनुदान रकम उखु क्रसिङ भएको वर्ष उपलब्ध गराउनेसमेत शर्माले बताए ।
बजेट वक्तव्यमा अर्थमन्त्री शर्माले उखुको जातीय विकास गर्न उखु अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने र चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने बताए ।
सरकारले नगदेबाली खेती गर्न किसानलाई उत्प्रेरित गर्नेसमेत बताएको छ ।
विसं २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने अर्थमन्त्री शर्माले बताए ।
कृषि बाली र पशु बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउन रु ७६ करोड रकम विनियोजन गरेको बताए ।
कृषिमा आत्मनिर्भरताका लागि गुणस्तरीय बीउबिजनमा क्रमशः आत्मनिर्भर बनाउँदै लगिने भएको छ । पशुपक्षी महामारी रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पशु नश्ल कार्यक्रमअन्तर्गत उत्पादन र उत्पादकत्व वृद्धि गर्न पशु प्रजनन कार्यालयको संस्थागत क्षमता विकास गर्न मुलुकमा ५१० स्थानीय तहमा कृषि गर्भाधान सेवा उपलब्ध गराइने भएको छ ।
कुखुरालगायत पशुपक्षीको खोप आयातमा सहजीकरण गरिने भएको छ । पोखरा र नेपालगञ्जमा रहेको सिमेन्ट उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साढे र राँगा ल्याई सिमेन्ट उत्पादन गरिने भएको छ ।
आगामी वर्ष दुई लाख भैँसी र दुई लाख गाईको कृत्रिम गर्भाधान गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।











