
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्यो । साथै, नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई सिफारिस गर्यो ।
चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको एकीकृत समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने बढुवा गर्दै स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
पार्टीको सचिवालय समितिले बढुवा गरेर स्वास्थ्यमन्त्री बनाउने निर्णय गर्दै गर्दा खापुङ भने इजिप्टको राजधानी कायरोमा थिए । उनी ‘फस्ट अफ्रिकन मेडिकल एक्जिविसन एण्ड फोरम’मा सहभागी हुन तीन दिन अगाडि नै त्यहाँ पुगेका हुन् । उनी जेठ २६ गते मात्र स्वदेश फर्कदै छन् ।
आइतबार एकीकृत समाजवादीले मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेसँगै सोमबार शपथ खुवाउने तयारी गरिएको थियो । तर, सोमबार दिउँसो सम्ममा तत्काल मन्त्री हेरफेर नहुने वातावरण बन्यो । त्यसको एक कारण भवानी खापुङ स्वदेशमा नहुनु पनि रहेको बताइएको छ ।
एकीकृत समाजवादीका एक शीर्ष नेताले अन्य कारण भएता पनि सबै मन्त्रीलाई एकैपटक शपथ खुवाउनका लागि केही दिन शपथ पछि सारिएको बताएका छन् ।
उनले भने– ‘हाम्रो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य पार्टीमा पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको थाहा पाइयो । तर, हाम्रा मन्त्रीहरुको शपथ रोकिनुको कारण माननीय भवानी खापुङ स्वदेशमा नहुनु मुख्य कारण हो । उहाँ विदेशमा हुनुहुन्छ । उहाँ फर्केपछि सबैलाई एकैपटक शपथ खुवाउने भनेर रोकिएको हो ।’
एकीकृत समाजवादी पक्षले भवानी खापुङ स्वदेशमा नरहेका कारण शपथ रोकिएको भनेता अरु नै कारण हावी भएका कारण पनि मन्त्री हेरफेर भएको हो । मन्त्री हेरफेरकै कारण जनता समाजवादी पार्टी विभाजन हुने अवस्थाले पनि मन्त्री हेरफेर रोकिएको हो ।











