
काठमाडौं । आइतबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय समितिले अप्रत्यासित निर्णय गर्यो । त्यो निर्णय पार्टीबाट सरकारमा सहभागी बहालवाला मन्त्रीहरुका लागि सबैभन्दा अप्रत्याशित भयो ।
पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने गरेको निर्णयले स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीको निर्णयबाट चकित भए । राज्यमन्त्रीबाट बढुवा गर्दै मन्त्री सिफारिस गरिएका भवानी खापुङ पार्टीको निर्णयबाट पक्कै खुशी भए ।
एकीकृत समाजवादी सरकारमा सहभागी हुने बेलामा ६–६ महिनामा मन्त्री हेरफेर गर्ने आधारभूत सहमति भएको थियो । तर, यसबीचमा मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा कुनै छलफल भएको थिएन ।
हप्ता दिन अगाडि दृष्टिसँगको अन्तर्वार्ताका क्रममा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘अहिले मन्त्री फेर्ने योजना छैन’ भनेका थिए । तर, आइतबार भने अप्रत्याशितरूपमा अध्यक्ष नेपालले मन्त्री फेर्ने निर्णय गराए ।
मन्त्री फर्ने निर्णय गरेको एकीकृत समाजवादीले आइतबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको थियो । सोमबार साँझसम्ममा शपथ खुवाउने आधारभूत तयारी थियो । तर, सोमबार दिउँसो नै माहोल ३६० डिग्री घुम्यो । यसमा धेरै पक्षले भूमिका खेलेको छ ।
हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दल निर्णायक हुन्छ । दलले गरेको निर्णय नै अन्तिम हुन्छ । यस आधारमा एकीकृत समाजवादीले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय नै अन्तिम हो । तर, विविध कारण मन्त्री हेरफेर रोकियो ।
मन्त्री झाँक्रीको दौड, प्रचण्डको आश्वासन
आइतबार पार्टीले फिर्ता बोलाउने निर्णय गरेलगत्तै शहरी विकासमन्त्री रामकुमार झाँक्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे ।
वर्तमान सत्ता गठबन्धनका मुख्य घटक माओवादी केन्द्र र माओवादी अध्यक्ष प्रचण्डको भूमिका निर्णयक हुने बुझेका झाँक्रीले प्रचण्डसँग अहिलेकै अवस्थामा मन्त्री फेर्न नहुने केही कारणहरु सुनाए ।
स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै संघीय निर्वाचनतर्फ देश होमिएको, संसद्मा बजेटबारे छलफल चलिरहेकाले जवाफ दिन बाँकी नै रहेको र मन्त्री हेरफेरले गठबन्धनका अन्य दलमा पनि प्रभाव पर्ने सुनाउँदै झाँक्रीले प्रचण्डसँग तत्काल मन्त्री हेरफेर रोक्नका लागि पहल गर्न आग्रह गरे ।
माओवादीभित्र पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बेला एकीकृत समाजवादीले मन्त्री फेर्दा आफूलाई पनि दबाब बढ्ने बुझाइका साथ प्रचण्डले ‘म पहल गर्छु’ भन्दै झाँक्रीलाई आश्वासन दिएर पठाए ।
पद थमौतीका लागि चार मन्त्रीको प्रयास
मन्त्री भएको ८ महिना पनि नपुग्दै घर जानुपर्ने अवस्था बनेपछि एकीकृत समाजवादीका चार मन्त्री आइतबार साँझबाटै पद थमौतीमा जुटे ।
प्रचण्डबाट आश्वासन पाएर फर्केका मन्त्री झाँक्रीले अन्य मन्त्रीलाई पनि प्रचण्डसँगको छलफलबारे ब्रिफिङ गरेपछि सोमबार बिहानैबाट बाँकी पहल थाल्ने सहमति भयो ।
आइतबार बिहान चारै मन्त्री कोटेश्वरस्थित पर्यटमन्त्री प्रेम आलेको निवासमा जम्मा भए । सोही भेलाबाट चार मन्त्रीले प्रधानमन्त्री र अन्य नेतासँग पनि छलफल गरेर पद थमौतीका लागि पहल गर्ने योजना बनाए । त्यसपछि चारै मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अहिलेको अवस्थामा मन्त्री हेरफेर नगरौं भन्दै अनुरोध गरे ।
जसपा विभाजन खतराको फाइदा चार मन्त्रीलाई
आइतबार एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य पार्टीमा पनि उत्तिकै तरंग पैदा भयो । सबैभन्दा धेरै जनता समाजवादी पार्टी (जसपा)मा हलचल मच्चियो ।
पार्टी नै विभाजन गर्ने योजनासहित गतिविधि गरिरहेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले आइतबार बेलुकादेखि नै अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बढाए ।
जसपा सरकारमा सहभागी हुँदादेखि नै अनेक बहानामा पार्टीमा बखेडाबाजी गर्दै आएको भट्टराई समूहले यसपटक मन्त्री हेरफेर गरेर आफ्ना पक्षका नेतालाई मन्त्री नबनाए पार्टी नै विभाजन गर्ने धम्की दिएर दबाब बढाए ।
पार्टीभित्र दबाब बढेसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीको वस्तुगत अवस्था सुनाउँदै केही दिन मन्त्री हेरफेर रोक्न अनुरोध गरे ।
प्रधानमन्त्रीलाई पार्टीकै दबाब
मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले प्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेसमा पनि सुसुप्त रुपमा दबाब बढायो ।
कांग्रेसका मन्त्री आकांक्षीहरुले प्रधानमन्त्री देउवालाई प्रत्यक्ष वा परोक्षरूपमा दबाब बढाए । आफ्नै पार्टीबाट समेत दबाब बढेपछि प्रधानमन्त्री देउवा गठबन्धनका नेतासँग छलफल गरेर मन्त्री हेरफेर केही दिन रोक्ने निष्कर्षमा पुगे ।
यसैबीच सोमबार नै कंग्रेस महामन्त्री गगनकुमार थापाले बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफ्नो पार्टीमा पनि मन्त्री फेर्नुपर्ने माग व्यपकरूपमा उठेको बताएका थिए ।
मन्त्री हेरफेरले गठबन्धनमा समस्या हुने निष्कर्ष
मन्त्री हेरफेरले प्रत्यक्ष वा परोक्षरूपमा सबै पार्टीमा दबाब बढ्दा वर्तमान गठबन्धनमा आवद्ध दल नै विभाजित हुने अवस्था बन्नु पनि मन्त्री हेरफेर रोकिनुको कारण बन्यो ।
सत्ताढ दलका शीर्षनेताबीच छलफल हुँदा मन्त्री हेरफेरकै कारण गठबन्धनमा आवद्ध हुने दल विभाजित हुने र गठबन्धनमा त्यसको असर पर्ने अवस्थाबारे प्रधानमन्त्री देउवाले ब्रिफिङ गरेपछि मन्त्री हेरफेर केही दिन पछि धकेल्न सहमति जुटेको हो ।
एकीकृत समाजवादीको दाबी
एकीकृत समाजवादीले भने स्वाथ्य राज्यमन्त्रीबाट बुढवा गर्दै मन्त्री सिफारिस गरिएका भवानी खापुङ विदेशमा रहेका कारण मात्र शपथ रोएिको बताएको छ ।
एकीकृत समाजवादीका एक शीर्षनेताले अन्य कारण भएता पनि सबै मन्त्रीलाई एकैपटक शपथ खुवाउनका लागि केही दिन शपथ पछि सारिएको बताएका छन् ।
उनले भने– ‘हाम्रो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य पार्टीमा पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको थाहा पाइयो । तर, हाम्रा मन्त्रीहरुको शपथ रोकिनुको कारण माननीय भवानी खापुङ स्वदेशमा नहुनु मुख्य हो । उहाँ विदेशमा हुनुहुन्छ । उहाँ फर्केपछि सबैलाई एकैपटक शपथ खुवाउने भनेर रोकिएको हो ।’
पार्टीको सचिवालय समितिले बढुवा गरेर स्वास्थ्यमन्त्री बनाउने निर्णय गर्दै गर्दा खापुङ भने इजिप्टको राजधानी कायरोमा थिए । उनी ‘फस्ट अफ्रिकन मेडिकल एक्जिविसन एण्ड फोरम’मा सहभागी हुन तीन दिन अगाडि नै त्यहाँ पुगेका हुन् । उनी जेठ २६ गतेमात्र स्वदेश फर्कदै छन् ।
घर फर्किसकेका चार मन्त्री नियमित काममा
आतइबार पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नाम सिफारिस गरेसँगै एकीकृत समाजवादीका चार मन्त्री घर फर्कने अवस्थामा पुगेका थिए ।
तर, सोमबार दिनभरको राजनीतिक घटनाक्रमले उनीहरुलाई केही दिन मन्त्रीकै रुपमा काम गर्ने वातावरण बनेको छ । मन्त्री पद थमौती भएसँगै उनीहरु मन्त्रालयको नियमित काममा फर्केका छन् ।
मन्त्री हेरफेर केही दिन रोकिए पनि धेरै दिन नलम्बिने बुझिएको छ । गबन्धनका शीर्ष नेताबीचको छलफलमा दुई–तीन दिनमै आ–आफ्नो पार्टीको समस्या समाधान गरेर मन्त्री हेरफेर निर्णय कार्यान्वयन गर्ने सहमति भएको छ । यसैको आधारमा पनि सोमबार थमैतीमा परेका एकीकृत समाजवादीका चार मन्त्री केही दिनमै घर फर्कनुपर्ने देखिन्छ ।
शपथ खान तयारले दौरा थन्काए
एकीकृत समाजवादीको आइतबार सम्पन्न सचिवालय समितिको बैठकले पुरान मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने भएको छ ।
पार्टीले निर्णय गर्दै आइतबार नै प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझाएको थियो । साथै, उनीहरुलाई सोमबार नै मन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ खुवाउने तयारी गरिएको थियो ।
पार्टीबाट मन्त्री सिफारिस भएसँगै चारै जनाले शपथका लागि तयारी गरेका थिए । तर, सोमबारको राजनीतिक घटनाक्रमले उनीहरुको शपथ पछि धकेलिएको छ ।











