Logo
Logo

म कलाले ठगेको मान्छे : केपी ओली


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकारको कलालाई प्रशंसा गरेका छन् ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सकरात्मक सन्देश र मनोरञ्जन दिने कलाकारहरु प्रशंसाका पात्र रहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘कलाकार भनेका प्रशंसाका पात्र हुन् । कलाकारले सधै सकरात्मक सन्देश दिइरहेका हुन्छन् । मनोरञ्ज्न दिँदै आएका छन् । शान्तिका लागि विकासका लागि कलाकार प्रशंसाका पात्र हुन् ।’

कार्यक्रममा अध्यक्ष ओलीले आफू अस्पतालमा उपचाररत हुँदा उपचारमा संलग्न डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउने गरेको समेत स्मरण गरे । ‘तपाइँहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर नर्स र त्यहाँ काम गर्ने सबैले गीत गाउनै पर्ने र सुनाउनै पर्ने भनेर लगाउँथे’ उनले भने, ‘जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउनुपर्दथ्यो किनकि बिरामीसँग झगडा गर्न हुँदैन गाउनैपर्ने थियो ।’

अध्यक्ष ओलीले काममा व्यस्त भएपनि डाक्टर चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘उनीहरू काममा व्यस्त हुन्थे तर मैले तिमीहरूले गीत गाउनैपर्छ भन्थे । डाक्टर जाँच्न आउँछ पहिले एउटा गीत सुनाउनुस् अनि मात्रै जाँच्ने भन्थे । नर्सले कुनै इन्जेक्सन लगाउनु छ भने पहिले गीत भन्थे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउँथे ।’ बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने उनको भनाइ छ ।

सोही क्रमममा उनले कलाकारसँग ठट्टा गर्दै आफूलाई कलाले ठगेको बताए । ‘तपाइँहरु यति राम्रो गाउनुहुन्छ, मलाईचाहिँ किन गाउन नआएको होला । म कलाले ठगेको मान्छे’ उनले भने ।

आफूलाई गीत नगाएको भएपनि कविता लेख्ने बताए । केही वर्षअघि चन्द्रागिरीमा आफूले एउटा कविता लेखेको स्मरण गर्दै भने, ‘एउटा कार्यक्रममा चन्द्रागिरी गएको थिएँ । त्यहाँ ठाउँका ठाउँ कविता, गीत सिर्जना गर्ने कार्यक्रम राखिएको रहेछ । मैले पनि एउटा कविता लेखेको थिएँ ।’ उनले उक्त कविताको छोटो अंश वाचन गर्दै भने, ‘यो कवितालाई साथीहरुले संगीत गरेर गीत बनाउनुभएको रहेछ ।’

अध्यक्ष ओलीले कला क्षेत्रलाई सरकारले के गर्नु पर्ने ? कलाकारको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने कलाकारको सवालमा एमाले साथमा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्