
काठमाडौं । इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ ।
नगरपालिकाले बैठकलाई पारदर्शी बनाउन डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो । जनताले प्रष्ट देख्न पाउने गरी डिस्प्लेमा सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।
डिस्प्लेमा बैठक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्य बढी जिम्मेवार हुने मेयर रणबहादुर राईले बताए । नगरवासीले सूचना पाउने अधिकारको सूनिश्चितता गरेको उनको भनाइ छ । २ वटा क्यामेरा नगरसभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेजमार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको हो ।
प्रशासकीय अधिकृत भट्टराईका अनुसार अब विभिन्न सिफारिससमेत अनलाइनबाटै लिइने बताइएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले सदस्य ख्याम भुजेललाई नगरको प्रवक्ता तोकेको छ ।
नगर आर्थिक विकास समिति संयोजकमा ९ नं वडाका वडाध्यक्ष देवेन्द्र आचार्य, विपद् व्यवस्थापन समिति संयोजकमा वडा नं १ का वडाध्यक्ष राजकुमार शेरेङलाई तोकिएको छ ।














