
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरेक नागरिकले इमान्दारितापूवर्क कर्तव्य पालना गरे मानव अधिकार संरक्षण हुने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय र मानवअधिकारका सन्दर्भमा आयोजित ‘कर्णालीमा मानवअधिकारको अवस्था’ विषयक अन्तक्र्रियामा उहाँले ‘मानव अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हो’ बताए । राज्यका निकायसँगै प्रत्येक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने मुख्यमन्त्री शालीले बताए ।
‘नेपालको संविधानमा सबैको हकअधिकार सुनिश्चित गरिएको छ’, उनले भने, ‘यद्यपि हरेकले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् नहोस् भन्नेतर्फ सचेत बन्नुपर्छ ।’ शान्त, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि नागरिक तहदेखि सबै क्षेत्रको सकारात्मक योगदान हुनुपर्नेमा उनले जोड दिनुभयो ।
युवा र विद्यार्थीले प्रहरी कुटे, उद्योग व्यवसायीले कालोबजारी गरे, कानुन व्यवसायीले पैसाविना गरिबको पक्षमा पैरवी नगरे मानव अधिकारको संरक्षण कसरी हुन्छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री शाहीले सबैले राज्यसँग मात्र प्रश्न तेस्र्याउने काम गरे एउटा असल नागरिकको समाजप्रतिको उत्तरदायित्व सकिएर जाने बताए ।











