
काठमाडौं । अज्ञात रोगका कारण खोरमै बंगुर मर्न थालेपछि झापाको मेचीनगर–६ का भक्तबहादुर राई चिन्तित छन् ।
१ हप्ताको अन्तरालमा ५८ वटा उन्नत जातका बंगुुर मरेको उनले बताए । उनले स्माट एग्रो फर्म दर्ता गरेर ४७ लाखको लागतमा बंगुुर पालिरहेका छन् । ‘२ वर्षअघि सुरु गरेको फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बंगुर थिए,’ उनले भने, ‘आधाभन्दा बढी रोगले लग्यो । बाँकीलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।’
उनको फर्ममा ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याणजस्ता उन्नत जातका बंगुर छन् । बंगुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनले सुनाए ।
हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ । रोग पहिचानका लागि परीक्षण टोली पठाउने तयारी भइरहेको विभाग प्रमुख छत्रबहादुर राईले बताए ।











