बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र र प्रदेशको निर्वाचन आगामी मंसिरमै हुने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्नेबारे छलफल भइरहेको पनि उनले बताए ।

सोमबार बर्दियाको बेलभारमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीलगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने बढी सम्भावना छ । त्यसकारण कोही कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमै हुन्छ ।’
चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताउँदै प्रचण्डले भने, ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल भइरहेको छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सम्भव भयो । त्योभन्दा त प्रदेश र संघको सहज हुन्छ ।’
सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको पनि मंसिरमै चुनाव सम्पन्न हुने उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचनका लागि जुट्न समेत सबैलाई आह्वान गरेका छन् ।











