
काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो ।
आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा २०७९/०८० को आर्थिक सर्वेक्षण र केही प्रतिवेदन पेश हुनेछ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।
त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७९/०८० पेश गर्नेछन् । बागमती सरकारले ०७९/०८० को बजेट असार १ गते ल्याउने तयारी गरेको छ ।











