Logo
Logo

माधव नेपालले औंल्याए गठबन्धन र पार्टीका सात-सात समस्य


19.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सात प्रकारका समस्या औंल्याएका छन् । मंगलबारबाट सुरु भएको स्थायी कमिटि बैठकमा १३ पेज लामो चुनावी समिक्षात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनभित्रका समस्या औंल्याएका हुन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ- ‘पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौँ, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु ।’

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्रका पनि सात समस्या औंल्याएका छन् । उने पार्टीभित्र व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाड मछाड गर्ने, उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्नेजस्ता समस्या भएको बताएका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्- ‘पहिलो, गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने । दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने । तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाड मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौथो, चुनावलाई जनतामाझ राजनीति पुयाउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने । पाचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैठौं, आफुले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिड्ने । सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने ।’

अध्यक्ष नेपालको प्रतिवेदनमा आफ्नो पार्टीका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको उल्लेख गरेका छन् । ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्