Logo
Logo

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ


2.1k
Shares

काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आशंकामा ४ जना विद्यार्थी पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे सुरक्षा गार्डलाई केही व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । उक्त सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो ।

प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएका छन् । घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत ४ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दीको बेनी घर भइ काठमाडौं बसेर पढ्दै आएका जोसेन बानियाँ, रामेछापको मन्थली घर भई डिल्लीबजार बस्ने विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ घर भई घट्टेकुलो बस्ने प्रतिक खतिवडा र काठमाडौं टोखा–६ का सञ्जिव भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका २ समूहबीच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीलाई छुट्याउने क्रममा गार्डमाथि आक्रमण भएको हो ।

गार्डलाई आक्रमण गरी भागेकालाई खोजतलास गरी नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्