काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीहरूमा राजनीतिक संस्कार हराएको बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो कार्यक्रम’लाई सम्बोधन गर्दै नेता भुसालले पार्टीका शीर्ष नेताहरूले गाली-बेइजती र चरित्र हत्याको राजनीति सिकाइरहेको बताए ।

‘आज युवाहरुले विद्रोहका साथ, सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ । हाम्रो आन्दोलन कता लैजाँदैछन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गालीगलोज सुन्दा पर्याप्त हुन्छ,’ उनले भने, ‘हाम्रो पार्टीको माथिल्लो पंक्तिबाट निन्दाको, भत्सर्नाको, खुट्टा तानातानको, बेइज्जती, गालीको, चरित्र हत्याको राजनीति सिकाइरहेका छौँ ।’
कार्यकर्ताको योग्यता जाँच प्रणाली नै खराब रहेकाले यो झन् विकृत हुँदै गएको उनले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमालेको पत्तासाफ गरिदिन्छु’ भन्दा नेकपा माओवादी केन्द्रका कार्यकर्ता लाठी-डण्डा लिएर खडा हुने बताए ।
उनले भने, ‘हाम्रै कम्युनिष्ट आन्दोलनभित्र हेरौं । कमरेड प्रचण्डले एमालेको पत्तासाफ गरिदिनुपर्छ भन्नुहुन्छ, त्यसपछि माओवादी केन्द्रका साथाीहरु लाठी-डण्डा लिएर खडा हुन्छन् ।’
नेकपा एकीकृत समाजवादीमा ओलीको पुत्ला जलाएको आधारमा योग्यता देखिने टिप्पणी गरे । उनले भने, ‘माधव कमरेडले एमालेलाई धुलो चटाइदिन्छु भनेपछि हामी समाजवादीका साथीहरु ओलीका पुत्ला जलाउन थाल्छौँ । हाम्रो योग्यता ओलीको कति पुल्ता जलाउँछौँ, त्यस आधारमा समाजवादीमा जोडिने अवस्था बनेको छ ।’
उनले एमाले अध्यक्ष ओलीले माधव नेपालको नाम लिएर कुल्ला गरे भने एमालेका कार्यकर्ताले बान्ता नै गर्ने टिप्पणी गरे । उनले भने, ‘कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेका खाँटी कार्यकर्ताले त बान्ता नगरी उसको योग्ता नै पुग्दैन । उसले बान्ता गर्नैपर्छ ।’
पार्टीले समाजलाई कता लाँदै छ भनेर उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘चाहेर वा नचाहने तपाईं यो संरचनाभित्र हुनुहुन्छ भने तपाईंको योग्यता त्यहीँ हो । हामी समाजलाई कता लाँदै छौँ ? सो समाजलाई कता लर्तादै छौँ ?’














