धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय आजित बनेका छन् ।
एमाले नेता तथा पुर्वमन्त्री मोतिलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र ध्वनिका कारण स्थानीय बसाइँ सर्नुपर्ने बाध्यता भएको छ ।

सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानीय बसाइँ सर्नुपर्ने बाध्यता भएको बताँउछन् ।
केही बर्षअघिबाट सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानयीले पटक पटक विरोध, सुझाव र ज्ञापनपत्र बुझाउँदै आएपनि उद्योग सञ्चालक र उद्योगमा कार्यरत कर्मचारीले बेवास्ता गरेका छन् ।
उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधैँ मानवबस्तीमा आउने र त्योसँगै उद्योग सञ्चालन गर्दा ठुलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछि धुनिबेसी नगरपालिका–९ जुगेडीबासीले हैरानी खेप्न बाध्य हुन परेको स्थानीयबासी बताउँछन् ।

धुनिबेसी नगरपालिका–९ जुगेडी घर भएकी रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर गरेको बताइन् । उद्योग सञ्चालनमा आएपछि उद्योग आसपासका मात्र नभएर उद्योगदेखि टाढाका मानवबस्तीमा समेत त्यसको असर परेको उनको भनाइ छ ।
उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भैरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उनी बताँउछिन् ।
‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनि फल्दैन, फलेपनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाँउ कृषिक्षेत्र हो, फलफुल फल्ने ठाँउ पनि हो’ उनले भनिन्, ‘तर अहिले फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागतीलगायतका फलफुल फल लाग्दैगर्दा नै झरेर जान्छ ।’
अहिले उनीहरुले समुहगत रुपमै दवाब गर्ने अभियान चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनिबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको छ ।
जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४ सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुँवा निकाल्ने हुँदा आफुहरुलाई निदाउनै मुस्किल भएको बताए ।
‘हामीले उद्योगलाई बारम्बार ध्वनी र धुँवा धुलो नियन्त्रण गर्न भनेका छौं, तर उद्योगका कर्मचारीहरुले त्यसको ब्यवास्ता गर्दै आएका छन्’ उनले भने, ‘सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषि बालीमा पनि उस्तै असर परेको छ ।’
उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालन गरेको दावी गरेको छ । रातिमा उद्योग सञ्चालन गर्दा बढी ध्वनी आउने गरेको उद्योगका प्रतिनिधि अशोक आचार्यले बताए । यद्धपी औपचारिक रुपमा भने आफुले बोल्न नमिल्ने आचार्यले बताए ।
‘उद्योगमा बिद्युत जाने र आउने हुँदा उद्योगको अन्डरग्राउण्डमा जम्मा भएको धुलो र मेसिनबाट आउने धुँवा एकैसाथ बाहिर निस्कने गरेको हो । त्यो धेरैबेर रहँदैन र त्यसले खासै असर गरेजस्तो लाग्दैन’ उनले भने ।
उद्योग स्थापनाको समयमा स्थानीयसँग उद्योगका प्रतिनिधिले स्थानयीलाई रोजगारी दिने, स्थानीयले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगले समेत प्रयोग गर्ने, स्थानीयलाई कुनै किसिमको असर गर्न नदिनेलगायतका सम्झौता गरेपनि अहिले उद्योगले उक्त सम्झौतालाई कार्यान्वयन नगरेको स्थानीयको भनाइ छ ।














