Logo
Logo

एउटा गल्ती छोप्न, अर्को गल्ती


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै सचिव र मन्त्रीले सार्वजनिक रुपमा क्षमयाचना गर्नुपर्ने अवस्थामा पु¥याएको कुरा ओली स्वयंको मुखबाट सार्वजनिक भयो । यस्तो अवस्था आउनुमा अरुमाथि दोष थोपरेर आफू उम्कनुभन्दा ऐनामा आफ्नो अनुहार एक पटक आफैँले हेरेर गल्ती सच्याएको भए राम्रो हुने थियो । किनभने, नेकपा संसदीय दलको बैठकमा सांसदहरुले कुरा बुझेरै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । त्यो प्रश्नलाई प्रधानन्त्रीले नबुझेझै गर्दा लज्जित हुनुपर्ने स्थिति उत्पन्न भएको हो ।

शम्भु श्रेष्ठ

जहाँसम्म सचिवले झुक्याएको कुरा छ, त्यसमा कुनै सत्यता छैनन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उनकै किचेन क्याविनेटमा छन् । काम भए पनि नभए पनि दिनको एक पटक प्रधानमन्त्री भेट्न उनी बालुवाटार पुग्छन् । घण्टौघण्टा प्रधानमन्त्रीसँग गफ गर्छन् । अर्का परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई यस्ता मामिलामा प्रधानमन्त्री ओलीभन्दा चलाख छन् । भट्टराईमा सुँघेर सूचना पत्ता लगाउने क्षमता छ । जो बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्रीकै वरपर घडीको सुँइजस्तै घुमिरहन्छन् । जेएनयुबाट पिएचडी गरेका भट्टराईले पात हल्लनु अगाडि नै कताबाट हावा चल्यो भन्ने कुरा पत्ता लगाउँछन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल यस्तो मामलामा गम्भीर छन् । कुन देशको कूटनीतिक नियोगले कुन मन्त्रालयमा के विषयमा पत्र पठाएको छ भन्ने कुरा उनले थाहा पाउनासाथ प्रधानमन्त्रीलाई जस्ताको तस्तै ब्रिफिङ गर्छन् । त्यसमाथि प्रधानमन्त्री ओलीले सचिवहरुसँग समन्वय गर्ने जिम्मेवारी रिमाललाई दिएका छन् । रिमाललाई यो जिम्मेवारी दिएपछि मुख्यसचिवलाई भन्दा अगाडि सचिवहरुले रिमाललाई ‘ब्रिफिङ’ गर्छन् । हरेक सचिवले भनेका कुरा रिमालले डायरीमा टिप्छन् र हरेक बेलुकी प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छन् । परराष्ट्र सचिवले भारतीय दूतावासबाट आएको पत्रका बारेमा रिमाल र विभागीय मन्त्री ज्ञवालीलाई पक्कै पनि जानकारी गराएको हुनुपर्छ । मिडियामा पत्र छापिने, प्रधानमन्त्री कार्यालयमा नजाने भन्ने हुँदैन ।

त्यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले आफू लज्जित हुनुपरेको दोष सचिवमाथि थोपर्नु आफ्नो राष्ट्रवादी छवि ढाकछोप गर्नु नै हो । यदि प्रधानमन्त्रीले यति नाटक नगरेको भए उनीमाथि लम्पसारवादीको आरोप लाग्ने थियो । जनताले उनलाई ‘राष्ट्रघाती’ भनेर आरोप लगाउने थिए । त्यो आरोपबाट जोगिन उनले कुन पत्र ? कसलाई पठाएको पत्र ? कसको पत्र ? भनेर उल्टै सांसदहरुलाई हकारे । वास्तवमा भारत अथवा तेस्रो मुलुकबाट आउने तरकारी, फलफूललगायत वस्तुमा विषादी परीक्षण गर्ने सरकारको राम्रो निर्णय हो । भारतबाट आयात गरिएका फलफूल, तरकारीका कारण लाखौँ नेपाली क्यान्सरदेखि विभिन्न रोगले पीडित छन् । तर, जनताको स्वास्थ्यप्रति सचेत भएर यस अगाडिका सरकारले यस्तो निर्णय गरेको थिएन । यो निर्णयबाट आम नेपाली जनता खुशी छन् । यसको निरन्तरताको लागि आवाज उठाइरहेका छन् । प्रधानमन्त्री ओलीले सुरु गरेको यस कार्यलाई सर्वोच्च अदालतले समेत साथ दिएको अवस्था छ । अब यस्ता कार्यलाई सरकारले निरन्तरता दिँदै गयो भने विषादी खानबाट नेपाली जनता जोगिनेछन् । आफ्नै करेसाबारीमा ताजा तरकारी रोप्न बाध्य हुनेछन् । नेपाली कृषकहरु थप उत्साहित हुनेछन् । दूरगामी दृष्टिले हेर्ने हो भने फलफूल, तरकारीको परनिर्भरता हट्नेछ । स्वदेशमै ताजा तरकारी, फलफूल उत्पादन गर्नेहरुलाई हौसला बढ्नेछ र यसले नेपालीलाई आत्मनिर्भरतातर्फ डोहो¥याउने छ ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो निर्णय गर्दा जताततैबाट वाहवाही हुनुपर्नेमा प्रधानमन्त्री ओलीले एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दा आफैँ संकटमा परेका हुन् । कसैले सूचना लुकाएर उनलाई गुमराहमा राखेको होइन । यदि, कसैले प्रधानमन्त्रीलाई गुमराहमा राखेको भए अहिलेसम्म ती मन्त्री र सचिवको जागिर चट् भइसक्थ्यो । सुन्नुभयो त उनलाई गुमराहमा राख्ने कुन मन्त्री र सचिवमाथि कारवाही भयो त ? यसबाट स्पष्ट हुन्छ, लज्जित अरुका कारणले होइन, आफ्नै कारणले हुनुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्