काठमाडौं । बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले सरुवा भएको छ ।

आफ्नै संरक्षणमा रहेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यापारी सुशील चटौतलाई बचाउन नमान्दा महान्यायधिवक्ता कार्यालयले न्यायाधिवक्ता थोकरको सरुवा गरेको हो । ललितपुर सरकारी वकिलको कार्यालयका साहयक न्यायाधिवक्ता थोकरलाई मुख्य न्यायाधिवक्ता कार्यालय, हेटौँडाको शाखा अधिकृतमा सरुवा गरिएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्ने ३६ वर्षीय चटौतलाई तीन वर्षदेखि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । उक्त मुद्दा कम्जोर बनाउन महान्यायाधिवक्ताको कार्यालय नै लागिपरेको पाइएको छ ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीको सचिवालयले ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयलाई उक्त मुद्दा कमजोर बनाउन दबाब दिँदै आएको थियो । खातीको सचिवालयलले ललितपुर सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवाली र सहायक जिल्ला न्यायाधिवक्ता ललिता श्रेष्ठलाई मुद्दा कमजोर बनाउन दबाब दिएको थियो ।
खातीको सचिवालयलले फोन गरेर सफाइ पाउने गरी अभियोजन लगाउन भनेपछि सहायक न्यायाधिवक्ता श्रेष्ठले उक्त फाइल हेरिनन् । श्रेष्ठले यो मुद्दा हेर्न नमानेपछि थोकरलाई अभियोजनकर्ता तोकिएको थियो । तर, थोकरले पनि फाइल हेर्न नमानेपछि उनलाई मुख्य न्यायाधिवक्ता कार्यालय, हेटौँडाको शाखा सरुवा गरिएको हो ।
चटौतले काम गर्दै पढाउन राखेकी किशोरीलाई बलात्कार गरेको आरोप छ । ललितपुरको महेन्द्र आदर्श माविमा पढ्ने बालिका गत १० चैतमा स्कुलबाट घर जान नमानी झोक्राएर बसेपछि एक शिक्षिकाले प्रहरी प्रभाग इमाडोलमा बुझाइदिएकी थिइन् ।
प्रहरीसँग समेत बालिकाले केही भेद नखोलेपछि राष्ट्रिय बालअधिकार परिषद् मातहतको बाल हेल्प लाइनमा बुझाएको थियो ।
बाल हेल्पलाइनको परामर्शको ५ दिनपछि आफूमाथि ‘सुशील अंकलले’ ती वर्षदेखि यौन अपराध गरेको खुलाएकी थिइन् ।
त्यसपछि यो मामिला प्रहरीमा पुगेको थियो । सुरुमा प्रहरीले जाहेरी लिन नमानी घटना सामसुम बनाउन खोजेको थियो । तर, परिषद्को दबाबपछि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दर्ता भएर अनुसन्धान भएको थियो ।
जाहेरी लिएर गएका बाल हेल्पलाइनका कर्मचारीलाई सातदोबाटो वृत्तले फर्काएको भोलिपल्ट ‘अभियुक्त’ आइसकेको भन्दै जाहेरी लिन बोलाएको थियो । त्यसपछि नै प्रहरी र सरकारी वकिलको कार्यालयलाई मुद्दा कमजोर बनाउन दबाब आएको हो ।















