काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै नेता रावलले आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाएका हुन् ।

नेता रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताउँदै एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।
‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न, लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो’ उनले भने, ‘इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ?’ उनले प्रधानमन्त्रीले संसदबाट भागेर गल्ती ढाकछोप गर्न खोजेको आरोपसमेत लगाए ।
एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बैठकमा बोलाइएको थियो । तर, प्रधानमन्त्री नआएपछि नेता रावलले यस्तो आक्रोश पाखेका हुन् ।














