Logo
बीमा विमर्श

भगवानलाई झै बीमा कम्पनीलाई सम्झने अवस्था छ


चंकी क्षेत्री, सीइओ, सगरमाथा इन्स्योरेन्स


निर्जीवन बीमा क्षेत्रलाई कोरोना महामारीले कत्तिको असर गर्यो ?
कोरोना महामारीले हरेक व्यक्तिलाई असर पारेको छ । त्यसको बाबजुत पनि बिजनेश त्यति खस्केको चाहिँ छैन । वृद्धि नै छ । समग्रमा २० प्रतिशतको वृद्धि छ । सगरमाथा इन्स्योरेन्सले पनि त्यही गतिमा ग्रोथ गरेको छ । महामारी नभएको भए यो वृद्धि अझै राम्रो हुन्थ्यो ।

रहरले बीमा गर्ने प्रवृत्ति कत्तिको देखिएको छ ?
बीमा बुझेर गर्ने कमै हुन्छन् । पैसा खर्च हुने भएकाले रहरले गर्ने कमै हुन्छन् । बुझ्नेहरुले चाहिँ कुनै घटना, दुर्घटना भएमा इन्स्योरेन्सबाट सेक्युर गर्ने हो भनेर बीमा गर्नुहुन्छ । एक किसिमले बीमा बाध्यकारीजस्तो नै छ । जतिसुकै विकसित देश भए पनि बीमा धेरैजसो बाध्यकारी अवस्थामा गर्छन् । कसैले परिसकेपछि बीमा त गर्नुपर्ने रहेछ भन्ने महसुस गर्छन्, तर पछि त्यो कुरा बिर्सदै जान्छन् । दुःख परेको बेला भगवान्लाई सम्झिएजस्तै हो । दुःख पर्दा इन्स्योरेन्स सम्झन्छन्, तर पछि बिर्सन्छन् । यसको मतलब बीमाको सचेतना अझै पुग्न सकेको छैन । पहिलो बीमाको महत्व सरकारले बुझ्यो भने आमजनाले विस्तारै बुझ्छन् । जबसम्म सरकारले बुझ्दैन, जनतालाई बुझाउन समय लाग्छ ।

सरकारले चाहिँ किन बुझेन ?
भूकम्पमा खरबौं नोक्सान भयो तर इन्स्योरेन्सले कभर गर्ने करिब १६ अर्ब मात्र थियो । राज्यलाई ठूलो नोक्सान भयो, यदि सरकारले विभिन्न क्षेत्रको बीमा गरेको भए त्यसको पुनःनिर्माणका लागि सहज हुन्थ्यो । बाढी–पहिरोको क्षतिलाई बीमाबाट राहत दिन र पुनःनिर्माण गर्न सकिन्छ । विस्तारै सरकारले पनि बुझ्दै गएको छ । कृषिमा अनुदान दिएर प्रोत्साहित गरिएको छ । कृषि बीमा गाउँ–गाउँसम्म पुगेमा कृषिमा क्रान्ति पनि हुन्छ । यो वर्षको बजेटमा इन्स्योरेन्ससम्बन्धी केही कुराहरु आएको छ । सरकारले कार्यान्वायन गर्न सक्नुपर्छ ।

८० प्रतिशत अनुदान हुँदा पनि कृषि बीमा किन थोरै मात्र छ ?
यसमा धेरै किसानलाई थाहा नभएको पनि हुनसक्छ । यसमा प्रदेश र स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ । स्थानीय तहका नेताहरुले जनचेतना बढाउनुपर्छ । एउटै भैंसीको बीमा गर्न सदरमुकामबाट गाउँ जान गाह्रो होला, तर स्थानीय तहका व्यक्तिहरुले यसमा सहजीकरण गरेर सामूहिक रुपमा बीमा गर्ने वातावरण तयार गर्नुुपर्छ । त्यसकारण स्थानीय तहबाट यसको प्रचार प्रसार गरी सहजीकरणको वातावरण बनाउने मोडालिटी बनाएर गयौं भने कृषि बीमा बढ्छ ।

निर्जीवन बीमाको सबैभन्दा ठूलो हिस्सा कुन क्षेत्रमा छ ?
सबैभन्दा धेरै त गाडीमै छ, प्रोपर्टी इन्स्योरेन्स(घर, कम्पनी) र त्यसपछि आयात–निर्यातसम्बन्धि व्यवसायमा छ ।

बीमामा नयाँ पोलिसीहरु त्यति आउन नसकेका हुन् ?
सानो–सानो लक्षित समूहलाई हेरेर पनि कतिपय पोलिसी आइरहेका हुन्छन् । इनोभेटिभ पोलिसीहरु आइरहेका पनि हुन्छन् । हामीले पनि ‘भीआइपी अन द स्पोट’ जस्ता पोलिसी ल्यायौं । गाडी दुर्घटना भएमा २४ घण्टाभित्र स्पोटमा नै सेवा दिने गरी यस्तो पोलिसी ल्यायौं । छिटो–छरितो तरिकाले दाबी भुक्तानी दिने प्रयास हो यो । ‘सगरमाथा आरोग्य पोलिसी’ भनेर नयाँ पोलिसी ल्याएका छौं । न्यूनतम प्रिमियमबाटै यो बीमा गर्न सकिन्छ । व्यक्तिगत दुर्घटना जोखिम, स्वास्थ्योपचार जोखिम र गम्भीर प्रकृतिका रोज जोखिमलाई एउटै पोलिसीले समेटेका छौं । यस्ता नयाँ–नयाँ पोलिसीहरु आइरहेकै छन् ।

एउटाले नयाँ पोलिसी ल्यायो भने अर्काेले त्यसलाई कपी गर्ने प्रचलन पनि छ भन्ने सुनिन्छ नि ?
प्रतिस्पर्धी बजारमा यस्तो अलिअलि भइनै हाल्छ । प्रतिस्पर्धा अस्वस्थ चाहिँ हुनु हुँदैन, मुख्य कुरा त्यही हो । अहिलेको अवस्थामा बजारमा प्रतिस्पर्धा हुनु जरुरी पनि छ । प्रतिस्पर्धा भएन भने बजार अघि बढ्न सक्दैन । यो क्षेत्रलाई नै ध्वस्त बनाउने गरी अस्वस्थ प्रतिस्पर्धाचाहिँ गर्नु हुँदैन ।

वैशाखसम्मको तथ्याङकअनुसार धेरै बीमा शुल्क धेरै उठाउने कम्पनीमा सगरमाथा दोस्रो स्थानमा छ, यो वर्ष लक्ष्यअनुसार नै प्रगति भइरहेको छ ?
हामी यो वर्षको लक्ष्यअनुसार नै अघि बढेका छौं । वर्र्षाैदेखि हामीसँग आबद्ध हुनुभएका हाम्रा ग्राहकवर्ग हुनुहुन्छ, उहाँहरुले हामीलाई विश्वास गरेर साथ दिनुभएको छ, त्यो हाम्रो ‘प्लस प्वाइन्ट’ हो । बीमा शुल्क सबैले उठाउँछन्, मुख्य कुरा दाबी भुक्तानीको समयमा तपार्इँले कसरी सेवा दिनुहुन्छ, त्यो कुरा महत्वपूर्ण हुन्छ । भुक्तानीमा हाम्रो छिटो र सरल सेवाले पनि सगरमाथा अग्रस्थामा रहन सफल भएको हो ।

बीमा कम्पनीबाट दाबी भुक्तानी लिन गाह्रो हुन्छ भन्ने बुझाइ जनमानसमा छ नि ?
यसमा अलिकति बुझाइको कमी पनि हो । यसमा नकारात्मक कुराहरु बढी फैलने गरेका छन् । मेरै कम्पनीको कुरा गर्ने हो । वार्षिक एक अर्बको दाबी भुक्तानी गरिरहेको हुन्छ । यसमा १–२ जनाको भुक्तानीमा समस्या भयो भने त्यसको बढी प्रचार हुन्छ, हजारौंलाई तिरेको कुरा गौण हुन्छ । हाम्रो उद्देश्य कहिले पनि कोही मुद्दामा जाओस् भन्ने होइन । मुद्दा लड्न र ग्राहकलाई दुःख दिन कम्पनी खोलेका होइनौं । तर, कतिपयले शर्तहरु नमान्ने अवस्था छ भने जनताको पैसा जथाभावी भुक्तानी त दिनुभएन नि । जनताबाट उठाएको पैसा जनतालाई नै समस्या पर्दा सेटलमेन्ट गर्ने हो । त्यसकारण १–२ वटा घटनाले यो बीमाबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ, यसलाई सच्याउनुपर्छ ।

कम्पनी धेरै भए, पूँजी कम भयो भनेर बीमा समितिले पूँजी बढाउन मर्जरमा जान दबाब दिइरहेको छ, तयारी के छ ?
कति कम्पनी राख्ने, चुक्ता पूँजी कति बनाउने भन्ने कुरा नियामक निकायको अधिकारको विषय हो । उहाँहरुले मार्केट बुझेरै गर्नुभएको होला । उहाँहरुले जुन समय दिनुभएको छ, त्यो समयचाहिँ अलि पुग्दैन । सबै कम्पनीले चुक्ता पूँजी बढाउन मर्जरका लागि तयारी गरिरहेका छन् । अहिले अब मर्जरको विकल्प छैन । लगभग दुई वटा कम्पनी मिल्दा चुक्ता पूँजी साढे दुई अर्ब पुग्ने अवस्था छ । बीमा समितिको उद्देश्य पनि संख्या घटाउनेमा देखिएको छ, त्यसकारण हामी पनि मर्जरतर्फ नै लागेका छौँ ।

तपाईं बिमक संघको अध्यक्ष, यो क्षेत्रले अहिले भोगेका अन्य समस्या के छन् ?
कोरोना महामारीको बेलामा हामीले कर्पाेरेट सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रायलका रुपमा कोरोना बीमा सुरु गरेका थियौं । हामी कम्पनीहरु आफैंले एक अर्बको फण्ड बनाएर यसको सुरुवात गरेका थियौं । बीचमा हामीले रोक्न लाग्यौं तर सरकारले कम्पनीले नसकेको हामी बेहोर्छाै भनेपछि पछि फेरि सुरु भयो । साढे तीन अर्बभन्दा माथिको दायित्व सरकारले बहन गर्ने भनेको थियो, तर सरकारले दिन्न पनि भनेको छैन, अहिलेसम्म दिएको पनि छैन । यसले गर्दा जनमासन बीमाप्रति विश्वास घट्ने हो कि भन्ने डर छ । यसमा जनताले पनि दुःख पाउनुभएको छ, हामीलाई पनि टाउको दुखाइको विषय छ, यसमा सरकारले छिटो निर्णय गर्नुपर्छ ।

सगरमाथा इन्स्योरेन्स २६ वर्ष पुरानो कम्पनी, पहिले र अहिले नेपालमा बीमा क्षेत्रमा कस्तो परिवर्तन आएको छ ?
धेरै नै परिवर्तन भइसकेको छ । कम्पनी स्थापना भएको तीन वर्षपछि म यसमा आबद्ध भएको हुँ । त्यतिबेला यो कम्पनीमा बिजनेश भनेको १ करोड ५९ लाख थियो । त्यसपछिको हाम्रो लक्ष्य तीन करोड पुर्याउने भन्ने थियो, अहिले हाम्रो तीन अर्बको बिजनेश पुग्दैछ । यसरी बिजनेश बढ्छ भन्ने चाहिँ हामीलाई पनि थिएन । बीमा क्षेत्रमा ठूलो परिर्वतन आइसकेको छ । जीवन बीमा करिब ३५ प्रतिशतमा पुगिसकेको छ । जीवन बीमाको तुलनामा जनरल बीमा अझै धेरै फैलन सकेको छैन । ८–९ प्रतिशत जनतामा मात्र जनरल इन्स्योरेन्स पुगेको छ । जनचेतना बढाएर जनरल बीमालाई बढाउनुपर्ने छ । व्यापार गरौं र सुरक्षित रहौं भन्ने कुरा बुझेर जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गर्ने परिपाटी बसाल्न जरुरी छ ।

(क्षेत्री नेपाल बीमक संघका अध्यक्षसमेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्