Logo
Logo

कवि घायललाई शारदा श्रेष्ठ स्मृति पुरस्कार


- दृष्टि न्युज/संवाददाता


चितवन । शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाएका छन् । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो ।

शारदा स्मृति प्रतिष्ठान चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अर्का साहित्यकार बिदुर अधिकारीलाई ५ हजार रुपैयाँको डिल्लीराम धनसरा प्रतिभा पुरस्कार २०७६ ले सम्मान गरिएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले साहित्यकारद्वयलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

प्रमुख अतिथि प्रमुख दाहालले आफू शारदा श्रेष्ठजस्तो बन्न नसके पनि उहाँजस्तै बन्ने प्रयास गर्ने बताइन् । श्रेष्ठसंग २०६० सालमा चितवनमा आफ्नो भेट भएको बताउँदै उनले श्रेष्ठ निकै प्रतिभावान ब्यक्ति भएको बताइन् ।

उहाँको नामबाट स्थापित पुरस्कारले उहाँलाई सधैं जीवन्त बनाउन सहयोग पुगेको बताउँदै प्रमुख दाहालले पुरस्कार प्राप्त गर्ने ब्यक्तित्वहरुलाई बधाई ज्ञापन गरिन् । उनले वर्तमान नेकपाबाट नागरिकले धेरै आशा गरेकाले अब छिट्टै तल्ला तहसम्म पार्टी कमिटी निर्माण गरी जनताको विकासको सपना पूरा गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसदहरु घनश्याम दाहाल, रामलाल महतो लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष परियारले शारदा श्रेष्ठको राजनीतिक यात्राका बारेमा चर्चा गरेका थिए । ०६१ सालमा पार्टीको गण्डक क्षेत्रको बैठकमा सहभागी हुन चितवनको पहाडी क्षेत्रहँुदै जाने क्रममा तत्कालीन सत्ताले कब्जामा लिई उहाँलाई यातना दिई मारेको बताउँदै अध्यक्ष परियारले श्रेष्ठ निकै प्रभावशाली नेतृ र साहित्यकार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्