Logo
Logo

मोरङका उद्यागीको चेतावनी- राज्यले नीति नसच्याए अर्थव्यवस्था श्रीलंकाको भन्दा कमजोर हुनेछ



विराटनगर । मोरङका उद्योगी र मजदुरले राज्यको नीतिका कारण नेपाल श्रीलंकाभन्दा कमजोर हुने चेतावनी दिएका छन् । आगामी आर्थिक वर्षकोे बजेटमा प्रस्तुतमध्ये तीन क्षेत्रको करको दर समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले यस्तो बताएका हुन् ।

शुक्रबार आन्तरिक राजस्व कार्यालय विराटनगरमा धर्ना दिने क्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्यले नीति नसच्याए देशको अर्थ व्यवस्था श्रीलंका भन्दा कमजोर हुने बताए ।

स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबारदेखि उद्योगी व्यावयासी र मजदुरहरु आन्दोलनमा छन् । उनीहरुले स्वदेशी उद्योगको संरक्षण गर्न माग गरेका छन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेका थिए ।

यस्तै, तयारी वस्तुमा १.५ प्रतिशत कायम गरे पनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम कायम गरिएको छ । सरकारको नीतिले स्यानिटरी उद्योग बन्द हुने उद्योगीको गुनासो छ ।

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योग पनि संकटमा परेको उनीहरुको गुनासो छ । सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेको छ । यसअघि वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो । नयाँ व्यवस्थाले आयातित वस्तुसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीको गुनासो छ ।

स्यानीटरी प्याड, तेल र जीआई वायरमा आधारित उद्योगको संरक्षण गर्न माग गर्दै उद्योगीले बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्