काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले मन्त्री फेरबदलको विषय उठेपछि तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
शुक्रबार पार्टी अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्री फेरबदल पार्टीको अपरिपक्व निर्णय भन्दै उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरुले बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने पत्रमा उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेको आठ बुँदे ध्यानाकर्षण पत्रमा अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन् ।
समर्थन गर्नेहरु सांसदहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहेका छन् ।














