Logo
Logo

पीएसटीएन तथा पोष्टपेड मोबाइल पहिलेभन्दा सस्तोमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन (पीएसटीएन) तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नुपर्दछ । यो परिमार्जित शुल्क आज साउन १ गतेदेखि नै लागू हुने टेलिकमले जनाएको छ ।

यसअघि नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि गरेको छैन ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्