Logo
Logo

नेपाली राजनीतिमा ‘रामकुमारी–दृश्य’



टेलिभिजनको पर्दामा रामकुमारी झाँक्रीको गला अवरूद्ध थियो, आँखा खहरेजस्तै रसाइरहेका थिए । त्यसरी रसाएर बनेका आँसुका डल्ला बेला–बेला उनका गालाबाट तल उछिटिन्थे, त्यसलाई उनी बीचैमा पुछेर तल झर्न दिइरहेकी थिइनन् ।

विद्यार्थी जीवनमा लडाकु छवि बनाएकी रामकुमारी झाँक्रीको यो दशा ३६ हजार माइल टाढा एउटा सानो अमेरिकी सहरमा बसेर टेलिभिजनको पर्दामा हेरिरहँदा यो स्तम्भकारका मनमा अनेकौं प्रश्नहरू फालिम लागे ।

पृष्ठभूमिमा उनी मन्त्री भएको पहिलो दिनका दृश्यहरू पनि मानसपटलमा शृंखलाबद्ध भएर फालिम लागे । त्यतिबेला उनका हरेक अंगहरू प्राप्तिको खुशीले फुलिरहेका थिए । गुगलिङ गरेर अर्काइभबाट पुराना दृश्यहरू पुनः दोहोर्याएर एकपटक हेरें ।

जब यी दुवै खाले दृश्यहरूलाई दिमागको एउटै फ्रेममा राखेर तुलना गर्न थाले, मेरो मनमा कतै आशा जगाउने ठाउँ थिएन, एक किसिमको निराशा नै हात लाग्यो । म धेरैपटक देश छोडेकामा ऐठन लागेको मान्छे हुँ ।

रामकुमारीको यो मनोदशा देखेर भने पहिलोपटक अलि झ्याङ्गै भए र मनलाई बुझाउन आफैंलाई शान्तवना दिँदै मनमनै भनेँ– तलाईं ऐठन लाग्न बेकार छ काइला, ठीकै गरिस् समयमै रामकुमारीहरूको देश छोडेर ।

मलाई यो हरिबिजोग दृश्यले विक्षिप्तै बनायो । भवर्लभन्दा पनि नन भर्वल दृश्यले । आमसञ्चारको एक विद्यार्थी हुनुको नाता म ननभर्वल दृश्यको शक्ति राम्ररी बुझ्न सक्छु ।

साँच्चै यो रामकृमारी दृश्य यति प्रभावकारी थियो कि यसले मलाई यो दृश्यकी केन्द्रीय पात्र रामकुमारीलाई चिन्न कति मिनेट पनि लागेन । यो दृश्यमा मैले वर्षौँदेखि अर्कै ठानेकी रामकुमारी अर्कै भएर प्रस्तुत भएकी थिइन् ।

हुन त यो दृश्यमा एक्ली रामकुमारी हरिबिजोग देखाइरहेकी थिइन् । सबैको नांगो आँखाले देख्ने सपाट दृश्य पनि त्यही थियो, मेरा नाङ्गा आँखाले देखेको पनि त्यही हो । तर, मेरो मनको आँखाले भने यो धेरै टाढाको कुरूप दृश्य देखिरहेको थियो, जहाँ भोलिको नेपालको भविष्य ठानेर युवा नेता भनिने हजाराैँ रामकुमारीहरूको हरिबिजोग प्रदर्शन भइरहेको थियो । हो, त्यही कुराले भने मलाई बिचलित बनाइरहेको थियो ।

म धेरैपटक आर्यघाट गएको छु । कयौपटक आफ्ना प्रियजनको शवलाई काँध पनि दिएको छु । तर, कोरोनाकालमा नेपाल शिलबन्दी भएको आफ्नै बाबुको निधन हुँदा काँध थाप्न नपाएको अभागी पनि हुँ म । मलाई त्यो पीडाले जीवनपर्यन्त भत्भती पोलिरहन्छ । घरदेशमा र परदेशमा हुनुको फरक मलाई यही घटनाले बाराम्बार सम्झाइरहन्छ ।

सन्दर्भ, आर्यघाटमा आफ्ना प्रियजनको शवको अगाडि बसेर पीडाको सन्नाटा व्यक्त गर्नेको हो । आफ्ना प्रियजनको छुन र छाम्न सकिने शरीर अन्तिमपटक छुँदा–छाम्दा र त्यसपछि होशमा आएर उसलाई अब कहिले छुन छाम्न पाइँदैन भन्ने चेतना हुन्छ, हो ठीक त्यहीबेला जुन किसिमको पीडा हुन्छ, त्यो कुनै पनि भाषाको शब्दमा व्यक्त गर्नै सकिन्न ।

रामकुमारी झाँक्रीको दशा ठीक त्यस्तै थियो । उनी मन्त्री नामको एक थान प्रियजनको आर्यघाटमा दाहसंस्कार गरेर खरानीमा जीवन खोजिरहेको आफन्त जस्तै मनोदशामा देखिइन् । न बोल्न सकिरहेकी थिइन्, न रून सकिरहेकी थिइन्, गला अवरूद्ध भएर विक्षिप्त थिइन् ।

आखिर रामकुमारीलाई यसरी गलाअवरूद्ध पार्ने र रूवाबासी गराउने के तत्व थियो त्यस्तो ?
के उनले जीवन गुमाएकी थिइन ?
हैन ।
के उनले आफ्नो प्रियजन गुमाएकी थिइन् ?
हैन ।
के उनी देश गुमाएर शरणार्थी भएकी थिइन् ?
हैन ।
के उनी घर जलेर खरानी भएर सुकुमबासी भएकी थिइन् ?
हैन ।

यी सबै केही पनि थिएन । उनले गुमाएको त त्यही एक थान मन्त्री पद थियो । अझ उनले त्यो पद पाउँदा नै पार्टीले त्यो पद ६ महिनाका लागि मात्र भनेर वाचा कसम नै गराएको थियो । जब यो सबै पार्टीपद्धतिअनुसार नै गरिएको थियो भने त्यो पद गुमाउँदा यति धेरै आशक्तिको कन्तबिजोग देखाउनुपर्ने कारण के थियो ?

हो, छ महिने वाचा–बन्धन नगरेको भए हुन्थ्यो । त्यो राम्रो पनि थिएन र त्यसको सन्देश पनि राम्रो गएको थिएन । तर, जब बाचा बन्धन नै गरेपछि त त्यसको पालना गर्नुपथ्र्याे नि ।

मैले चिनेकी रामकुमारीबाट के आशा गरेको थिएँ भने– ६ महिनाको दैनिक क्यालेण्डर बनाएर उनले काम गर्छिन् र ६ महिना पुग्नु अघिल्लो दिन मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आफूले यो–यो काम गरें भनेर हाँसी–हाँसी बिदा हुन्छिन् । तर, दुर्भाग्य मैले चिनेकी रामकुमारीबाट त्यो भएन ।

विधिको कुरा गरेर नथाक्ने रामकुमारी उल्टै विशिष्ट परिस्थितिको माग भन्दै केही दिनअघिदेखि नै मन्त्री नछाड्ने कुरा गर्न थालेकी थिइन् । १० जना सांसद जम्मा पारेर मन्त्री नछोड्ने भनेर पार्टीलाई थर्काउन थालेकी थिइन् ।

यस क्रममा पार्टी अध्यक्ष नेपाललाई उनको निवासमै पुगेर झाँक्री शैलीमा सातो टिपेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा मन्त्री नबदल्न दबाब दिन पुगेकी थिइन् । यो सबले उनलाई चिन्ने मौका दिइरहेकै थियो । तर क्लाइमेक्स भने त्यतिबेला मिल्यो जब उनले अन्ततः मन्त्री पद छोड्नु नै पर्ने भयो ।

वास्तवमा नेपाली राजनीतिको यो रामकुमारी दृश्य, रामकुमारी झाँक्रीको त पटाक्षेप थियो नै, हरेक पार्टीमा रहेका केही हजार थान रामुकमारीहरूको पटाक्षेप पनि थियो । यसले नेपाली समाजलाई के सन्देश दियो भने आखिर सबै पदमा नपुगुञ्जेल त आदर्शका कुरा गर्ने रहेछन्, पदमा पुगेपछि त त्यो छोड्न कसलाई पो सजिलो हुँदोरहेछ र ?

यसले नेपाली समाजमा जसरी पानीबिना माछा बाँच्दैन, त्यसैगरी नेपाली नेताहरू पनि पदबिना बाँच्ने नै रहेनछन् भन्ने एक किसिमको भाष्य निर्माण भयो । त्योभन्दा पनि बढी नेपाली समाजमा द्वैधचरित्र कति हाबी रहेछ भन्ने दृष्टान्त मिल्यो ।

यो स्तम्भकार नेपाली समाजमा व्याप्त द्वैधचरित्र देखेर यदाकदा भन्ने गर्छ– नेपालीको डिएनएमै द्वैधचरित्र छ । ऊ आफ्नाका लागि एक मानक र अर्काका लागि अर्कै मानक बनाउँछ ।

हो, यो मन्त्री फेरबदलमा झाँक्रीजस्तै अरू तीनजना एकीकृत समाजवादीका नेताहरूले पनि विक्षिप्त नै व्यवहार देखाए, तर उनीहरूको त्यस्तो व्यवहार देख्दा कसैलाई पनि खासै अचम्म लागेन ।

प्रेम आले र किसन श्रेष्ठका बारेमा कसैले केही भनेनन्, उनीहरू खुट्टी देखेरै अनुमान गरे । विरोध खतिवडाको सुत्केरी औषधीको रामकहानी थाहा नहुनेलाई अचम्म लागे पनि थाहा हुनेलाई त्यस्तो केही लागेन ।

मानिसहरूलाई शक लागेको भनेकै रामकुमारीको ब्यवहारबाट हो, अझ त्यसमा पनि फेरि भैटौलाका नाममा उनले जुन किसिमको रूवाबासी गरिन्, त्यो भने उनीबाट कसैले पनि अपेक्षा गरेको थिएन । वास्तवमै यो एउटा हरिबिजोग दृश्य नै थियो ।

यो दृश्यले सबैभन्दा बढी रामकुमारीलाई नै घाटा पुर्यायो । अब उनी नेपाली राजनीतिमा पदका लागि हुने अधिकतम आशक्तिकी पर्यायका रूपमा अभिसप्त हुनेछिन् ।

पदका लागि उनले जुन किसिमको आशक्ति देखाइन्, पार्टीको शीर्ष नेतृत्वमाथि जुन किसिमले ‘झाँक्री बसिन्, त्यसले उनको राजनीतिक कद त लिलिपुट भयो नै, अब उनको राजनीतिक भविष्यमाथि कालो बादल मडारियो । यसै पनि झाँक्रीका लागि राजनीतिक स्पेस साँघुरिदै गएको थियो, यो हरिबिजोग दृश्यले अरू खुम्चियो ।

प्रतिक्रिया दिनुहोस्